काठमाडौं। भारतीय अभिनेता टाइगर श्राफको गाडीमा मुम्बईको जुहूस्थित पुष्पा पार्क क्षेत्रमा पाँच राउन्ड गोली प्रहार भएको छ। घटनामा उनका चालक र नजिकै रहेका एक अटोचालक घाइते भएका छन्। टाइगर भने सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
समाचारअनुसार, फुटबल खेलेर गाडीमा फर्किरहेका टाइगरको गाडीलाई लक्षित गरी मोटरसाइकलमा आएका तीन जनाले अचानक गोली चलाएका थिए। घाइतेहरूलाई तत्कालै नजिकैको अस्पताल पुर्याइएको थियो।
घटनापछि प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरी आक्रमणकारीको खोजी थालेको छ। प्रहरीले आसपासका निगरानी क्यामेराका दृश्य जाँच गर्नुका साथै प्रत्यक्षदर्शीसँग सोधपुछ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार, लरेन्स गिरोहका अनिल पण्डित र हरमन सन्धुले सामाजिक सञ्जालमार्फत घटनाको जिम्मेवारी लिएको दाबी गरिएको छ। सार्वजनिक गरिएको भनिएको सन्देशमा सलमान खानसँग काम गर्ने र गिरोहको कुरा नसुन्ने चलचित्र क्षेत्रका व्यक्तिहरूलाई लक्षित गर्ने धम्कीसमेत दिइएको उल्लेख छ। यद्यपि, घटनाको कारण र आक्रमणकारीको संलग्नताबारे प्रहरीले आधिकारिक रूपमा पुष्टि गरेको छैन।
टाइगर श्राफ अभिनेता ज्याकी श्राफका छोरा हुन्। उनी हिन्दी चलचित्र क्षेत्रमा अभिनय र नृत्यका लागि परिचित छन्।


