मानव उपभोगका लागि अनुपयुक्त चोकर प्रयोग गरिएको पाइएपछि सरकारले भारतीय ब्रान्ड ‘प्रियागोल्ड’ बिस्कुटको आयात तथा बिक्री वितरणमा तत्काल रोक लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्रीका लागि पठाइएका उक्त ब्रान्डका सबै ब्याच र उत्पादन मितिका बिस्कुट फिर्ता गर्न निर्देशन दिएको छ।
विभागले आइतबार सूचना जारी गर्दै उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर बिस्कुटको पैठारी स्वीकृति र नाकाबाट हुने प्रवेश अनुमति स्थगन गरिएको जनाएको हो।
विभागका महानिर्देशक सञ्जीवकुमार कर्णको उपस्थितिमा बसेको उच्च व्यवस्थापन समूह र प्रडक्ट रिकल प्राविधिक समितिको आकस्मिक बैठकले आयात रोक्ने, बजारबाट उत्पादन फिर्ता गराउने र बिक्री वितरण नियन्त्रण गर्ने निर्णय गरेको हो।
भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले अक्टोबर १७ मा जारी गरेको सूचनालाई आधार बनाएर नेपालले यस्तो कदम चालेको विभागले जनाएको छ।
बिस्कुटमा गाईवस्तुको दानाका लागि प्रयोग हुने चोकर
भारतमा उपभोक्ताबाट उजुरी परेपछि त्यहाँको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले प्रियागोल्ड बिस्कुट उत्पादन गर्ने कम्पनी ‘सूर्या फुड एन्ड एग्रो लिमिटेड’ को कारखानामा निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा बिस्कुटमा रेसा (फाइबर) को स्रोतका रूपमा मानिसले खानका लागि नभई गाईवस्तुको दानामा प्रयोग गरिने चोकर राखिएको पाइएको थियो।
निरीक्षणका क्रममा उक्त चोकर राखिएका जुटका बोरामा स्पष्ट रूपमा ‘गाईवस्तुको दानाका लागि’ र ‘मानव उपभोगका लागि नभएको’ उल्लेख गरिएको भेटिएको थियो। खाद्य उत्पादनमा प्रयोग गरिएका कच्चापदार्थको गुणस्तर र उपयुक्ततामाथि गम्भीर प्रश्न उठेपछि भारतीय नियामक निकायले कारबाही प्रक्रिया अघि बढाएको हो।
त्यसैगरी, कारखानामा सरसफाइ, कीटनाशक नियन्त्रण, कच्चापदार्थको भण्डारण तथा कर्मचारीको व्यक्तिगत स्वच्छतामा समेत गम्भीर कमजोरी भेटिएको भारतीय पक्षको सूचनामा उल्लेख छ। ती कमजोरीका आधारमा कम्पनीको इजाजतपत्र निलम्बन गरी कानुनी कारबाही अघि बढाइएको जनाइएको छ।
बजारमा रहेका सबै बिस्कुट फिर्ता गर्न आदेश
विभागले नेपालका सबै आधिकारिक आयातकर्ता तथा खाद्य व्यवसायीलाई बजारमा रहेका प्रियागोल्ड बिस्कुटको बिक्री वितरण तत्काल बन्द गर्न र बिक्रीका लागि पठाइएका उत्पादन फिर्ता गर्न निर्देशन दिएको छ। यो निर्देशन सबै ब्याच तथा उत्पादन मितिका बिस्कुटमा लागू हुनेछ।
बजारबाट फिर्ता गरिएका बिस्कुट स्थानीय तह वा स्थानीय प्रशासनका प्रतिनिधि तथा विभागका प्राविधिक कर्मचारीको रोहबरमा मुचुल्का तयार गरी सुरक्षित रूपमा नष्ट गर्नुपर्ने व्यवस्था गरिएको छ।
विभागले निर्देशनको अवज्ञा गरी बिस्कुटको बिक्री वितरण जारी राखेमा वा उपभोक्ताको स्वास्थ्यमा जोखिम पुग्ने गतिविधि गरेमा प्रचलित खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
यस निर्णयसँगै आयातकर्ता, वितरक तथा खुद्रा व्यवसायीले बजारमा रहेका सम्बन्धित उत्पादनको बिक्री रोक्नुपर्ने भएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि नियामक निकायले जारी गरेको निर्देशन कार्यान्वयन गर्नुका साथै बजारबाट उत्पादन फिर्ता भएको सुनिश्चित गर्न अनुगमनसमेत आवश्यक देखिएको छ।


