प्युठान । जिल्ला कारागार प्युठानमा कैद भुक्तान गरिरहेका एक कैदी मृत फेला परेका छन्। गौमुखी गाउँपालिका–३ निवासी २७ वर्षीय ओमबहादुर घर्ती आइतबार दिउँसो कारागारको बाथरुमभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नरहरि अधिकारीका अनुसार दिउँसो करिब २ बजे नुहाउन बाथरुम गएका घर्ती लामो समयसम्म बाहिर ननिस्किएपछि अन्य कैदीबन्दीले ढोका खोलेर हेरेका थिए। त्यसक्रममा उनी बाथरुममा कपडा झुण्ड्याउने हुकमा डोरीको पासो लगाएको अवस्थामा भेटिएका हुन्।
घटनाको जानकारी पाउनासाथ कारागार कार्यालयबाट प्रहरी सहायक निरीक्षक सत्रोहन चौधरीको कमान्डमा खटिएको तीन जनाको टोलीले कैदीबन्दीको सहयोगमा घर्तीको उद्धार गरी तत्काल जिल्ला अस्पताल बिजुवार पुर्याएको थियो। तर, उपचारका क्रममा दिउँसो २:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतक घर्ती हाडनाता करणी मुद्दामा १६ वर्ष कैद सजाय पाएका कैदी हुन्। उनले ५ वर्ष कैद भुक्तान गरिसकेका थिए। घटनाबारे थप अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक अधिकारीकै कमान्डमा घटनास्थल अनुसन्धान टोली खटाइएको छ।
प्रहरीले मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइसकेको र आत्महत्याको कारण अझै नखुलेकाले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।


