सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

एटुजेड समाचार

भोजपुर। नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा माटाका भाँडा बनाउने चलन हराउँदै जान थालेको छ।

विगतमा घरायसी प्रयोजनका लागि प्रयोग हुने गाग्री, हाँडी, घैँटो, धुपौरोलगायत माटाका सामग्री अहिले कमै मात्रै देखिन थालेका छन्। सीप पुस्तान्तरण नहुँदा भाडा बनाउने र प्रयोग गर्ने दुवै चलन हराउँदै गएको हो।

विशेष गरी घरायसी कामदेखि धार्मिक तथा सांस्कृतिक कार्यसम्म माटाका भाँडाको प्रयोग अधिक हुन्थ्यो। यस्ता भाँडा गाउँघरको मौलिक परम्परा र पहिचानका रुपमा पनि थिए। अहिले ती भाडाको स्थानमा प्लास्टिक, स्टिललगायतका भाँडाले लिन थालेका छन्।

अरुण गाउँपालिका–७ का स्थानीय लक्ष्मीप्रसाद अधिकारीका अनुसार नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा यो परम्परागत पेसा सङ्कटमा परेको हो। माटाका सामग्री बनाउन माटो छनोट गर्ने, त्यसलाई मुछ्ने, आवश्यक आकार दिने र प्रयोगयोग्य बनाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ। यसका लागि सीप, अनुभव र समय आवश्यक पर्ने भएकाले पनि नयाँ पुस्ता यस पेसातर्फ आकर्षित हुन नसकेको उहाँको बुझाइ छ।

रामप्रसादराई गाउँपालिका–८ बासी रुपमान श्रेष्ठ माटाका सामग्रीको प्रयोग घट्दै जाँदा तिनलाई बनाउने सीप र त्यससँग जोडिएको मौलिक संस्कृति पनि हराउने जोखिम बढेको बताउँछन्। स्थानीयस्तरमा सीप सिकाउदै परम्परागत सामग्रीको महत्वबारे नयाँ पुस्तालाई जानकारी गराएर यसको प्रयोगलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनको भनाइ छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु