इन्धन महँगिएसँगै आजदेखि आन्तरिक हवाई भाडा बढ्यो

एटुजेड समाचार

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढाएको छ । प्राधिकरणले २०८३ साउन १९ गते अर्थात् ४ अगस्ट २०२६ देखि लागु हुने गरी नयाँ भाडादर निर्धारण गरेको हो ।

नेपाल आयल निगमले २ अगस्ट २०२६ मा हवाई इन्धनको साविक मूल्यमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरेको थियो । बढेको मूल्यअनुसार विभिन्न हवाई क्षेत्रमा लाग्ने भाडादर पुनः निर्धारण गरिएको प्राधिकरणको सूचनामा उल्लेख छ ।

नयाँ व्यवस्थाअनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँबाट बढेर २४९ रुपैयाँ पुगेको छ । यसमा २० रुपैयाँ अर्थात् ८.७३ प्रतिशत वृद्धि भएको छ । मुख्य हवाई क्षेत्र अर्थात् ट्रंक सेक्टरमा प्रतियात्रु प्रतिमिनेट इन्धन शुल्क १३२.४५ रुपैयाँ कायम गरिएको छ ।

यससँगै विभिन्न गन्तव्यको हवाई भाडा पनि बढेको छ । काठमाडौं–माउन्टेन क्षेत्रको भाडादर सात हजार ८६० रुपैयाँबाट बढेर आठ हजार ५४५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, काठमाडौं–भद्रपुरको ६ हजार ८७५ बाट ७ हजार ४८० रुपैयाँ, काठमाडौं–विराटनगरको ५ हजार ५०० बाट ५ हजार ९८० रुपैयाँ, काठमाडौं–जनकपुरको २ हजार ९४५ बाट ३ हजार २०५ रुपैयाँ र काठमाडौं–पोखराको ३ हजार ६३५ बाट ३ हजार ९५० रुपैयाँ पुगेको छ ।

त्यस्तै, काठमाडौं–भैरहवाको इन्धन शुल्क ४ हजार ७१५ बाट ५ हजार १२५ रुपैयाँ, काठमाडौं–नेपालगन्जको ७ हजार ४६५ बाट ८ हजार १२० रुपैयाँ, काठमाडौं–धनगढीको १० हजार १२० बाट ११ हजार रुपैयाँ र काठमाडौं–सुर्खेतको ७ हजार ९१५ बाट ८ हजार ६०५ रुपैयाँ पुगेको छ ।

दुर्गम तथा छोटो दुरीका हवाई क्षेत्रमा पनि शुल्क बढाइएको छ । एसटीओएल उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँबाट २४९ रुपैयाँ पुगेको छ । यसमा २० रुपैयाँ अर्थात् ८.७३ प्रतिशत वृद्धि भएको छ र प्रतियात्रु प्रतिमिनेट इन्धन शुल्क ९४.६२ रुपैयाँ निर्धारण गरिएको छ ।

दुर्गम क्षेत्रका लागि गरिएको गणनामा नयाँ हवाई इन्धन मूल्य २४९ रुपैयाँ प्रतिलिटर, प्रतिउडान यात्रु संख्या १५ जना र प्रतिघण्टा इन्धन खपत ३४२ लिटर राखिएको छ। सो आधारमा प्रतियात्रु प्रतिमिनेट इन्धन शुल्क ९४.६२ रुपैयाँ कायम गरिएको हो ।

प्राधिकरणले नयाँ इन्धन शुल्क ४ अगस्ट २०२६ देखि लागु हुने जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु