चितवन, भाद्र ८ – प्रदर्शन तयारीमा रहेको चलचित्र ‘मारुनी’ को गीत सार्वजनिक भएको छ । यस अघी नै दुई वटा गीत सार्वजनिक भईसकेको चलचित्रको तेस्रो गीत आइतबार सार्वजनिक भएको हो । सार्वजनिक भएको ‘हाने मैले झटारो’ बोलको गीत लोक लयमा बनेको छ ।
गीतमा पुरुषोत्तम ढुङ्गेल र कृष्ण काफ्लेको शब्द तथा कृष्ण काफ्लेकै संगीत रहेको छ । गीतमा आवाज भने अन्जु पन्त र कृष्ण काफ्लेको रहेको छ । लोक लयको उक्त गीतमा राजन इशानको संगीत संयोजन रहेको छ । गीतमा माया प्रेमका कुरालाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।
गीतमा चलचित्रका नायक पुष्प खड्का र अभिनेत्री रेबिका गुरुङ फिचर्ड रहेका छन् । भिडियोमा पुष्प र रेबिकालाई श्रीमन श्रीमतीको रुपमा देखाईएको छ । चलचित्र ‘मारुनी’ भाद्र १३ गतेबाट देशभर एक साथ प्रदर्शन हुँदैछ ।
पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रको निर्मात्री पुनम गौतम हुन् । चलचित्र ‘मारुनी’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का , रेविका गुरुङ, अर्जुन श्रेष्ठ ,आयुश प्रधान, बिनोद भट्टराई , सम्पदा बानियाँको कुशाग्र भट्टराई, स्वर्णिम पौडेल, सेफिअन्स लम्साल र साइरा आचार्य लगायतको मुख्य भूमिका रहेको छ ।
सञ्जय लामाले खिचेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । चलचित्रमा दीपक बज्रचार्य, अर्जुन पोख्रेल र कृष्ण काफ्लेको संगीत रहेको छ भने प्रविण सिंह, बिक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री चलचित्रका सह–निर्माता हुन् ।
https://youtu.be/1y2PXmx6Cl4


