‘तालिम प्रमाणपत्रमा होइन, आम्दानीमा देखिनुपर्छ’
ललितपुर-महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोग तथा ललितपुर हस्तकला संघ, कला तथा शिल्प विकास समितिद्वारा आयोजित खेर गएका सिसाका बोतललाई कलात्मक रूपमा पुनःप्रयोग गरी उपहारजन्य सामग्री उत्पादनसम्बन्धी ९० दिने सीपमूलक तालिम सम्पन्न भएको छ। समापन कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जनले सीप विकासलाई आत्मनिर्भर समाज निर्माणको बलियो आधारका रूपमा व्याख्या गर्दै यस्ता तालिमलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी उत्पादन, उद्यमशीलता र आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिइन्।
उनले पछिल्लो समय बढ्दो बेरोजगारी र वैदेशिक रोजगारीप्रतिको आकर्षणलाई स्थानीय स्तरमै सीप विकास र उद्यमशीलतामार्फत कम गर्न सकिने बताउँदै स्थानीय सरकारले सञ्चालन गर्ने तालिमहरू परिणाममुखी हुनुपर्ने धारणा राखिन्। उनका अनुसार तालिमको सफलता प्रमाणपत्र वितरणमा होइन, सहभागीले सिकेको सीपलाई व्यवहारमा उतारेर आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्नुमा निहित हुन्छ।
उपमेयर महर्जनले भनिन्, “तालिम सम्पन्न भयो भनेर मात्रै सफल भएको मान्न सकिँदैन। तालिमपछि उत्पादन हुन्छ कि हुँदैन, उत्पादनले बजार पाउँछ कि पाउँदैन, सहभागीको आयआर्जन बढ्छ कि बढ्दैन भन्ने पक्ष नै सबैभन्दा महत्वपूर्ण हो। प्रमाणपत्रभन्दा पनि सीपले आम्दानी दिन सक्नुपर्छ।”
उनले खेर गएका सिसाका बोतललाई कलात्मक सामग्रीमा रूपान्तरण गर्ने अभ्यासले वातावरण संरक्षण, फोहोर व्यवस्थापन तथा पुनःप्रयोग (Reuse) को संस्कृतिलाई प्रवर्द्धन गर्नुका साथै आर्थिक अवसर सिर्जना गर्ने उल्लेख गरिन्। यस्ता कार्यक्रमले विशेष गरी महिला, युवा तथा स्वरोजगारको खोजीमा रहेका नागरिकलाई घरमै बसेर सानो लगानीबाट उद्यम सुरु गर्ने आत्मविश्वास प्रदान गर्ने उनको भनाइ थियो।
महर्जनले सीपसँगै गुणस्तर, नवीनता, आकर्षक प्याकेजिङ, ब्रान्डिङ र बजारीकरणमा समेत ध्यान दिनुपर्ने बताउँदै स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरिन्। उनले नगरपालिकाले आगामी दिनमा पनि सीप विकास, महिला सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।
उनले तालिम सञ्चालन गर्ने संस्थाहरूलाई पनि सहभागीको दीर्घकालीन उपलब्धिमा ध्यान दिन आग्रह गर्दै तालिमपछि परामर्श, व्यवसाय सञ्चालन, बजार पहुँच र उत्पादन प्रवर्द्धनमा समेत सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याइन्। “सीप सिकाएर मात्रै दायित्व पूरा हुँदैन, सीपलाई व्यवसायमा रूपान्तरण गर्न सक्ने वातावरण तयार गर्नु नै सबैभन्दा ठूलो जिम्मेवारी हो,” उनले भनिन्।
कार्यक्रममा प्रशिक्षार्थीहरूले ९० दिनको अवधिमा तयार पारेका विभिन्न कलात्मक सामग्रीको प्रदर्शनीसमेत गरिएको थियो। खेर गएका सिसाका बोतललाई आकर्षक सजावटी तथा उपहारजन्य सामग्रीमा रूपान्तरण गरी सहभागीहरूले आफ्नो सिर्जनशीलता, मेहनत र सीप प्रदर्शन गरेका थिए। कार्यक्रममा तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले पनि तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यावसायिक रूपमा प्रयोग गरी स्वरोजगार सिर्जना गर्ने प्रतिबद्धता जनाएका थिए। स्थानीय स्रोत, सिर्जनशीलता र सीपको सदुपयोग गर्दै आत्मनिर्भर समाज निर्माण गर्ने अभियानमा यस्ता सीपमूलक तालिम प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरिएको थियो। उपमेयर महर्जनले पनि स्थानीय सरकारले सञ्चालन गर्ने प्रत्येक सीपमूलक कार्यक्रमको अन्तिम लक्ष्य आत्मनिर्भर नागरिक, सबल परिवार र समृद्ध महालक्ष्मी नगरपालिका निर्माण हुनु पर्ने बताउँदै त्यसका लागि नगरपालिका निरन्तर प्रतिबद्ध रहेको स्पष्ट पारिन्।




