चितवन, ३१ वर्षभन्दा बढी समय शिक्षण पेसामा समर्पित रही हाल निवृत्त जीवन बिताइरहेका साहित्यप्रेमी लेखक लेखनाथ दवाडीद्वारा लिखित पहिलो कृति ‘सम्झनाका फूल’ नामक संस्मरण को लोकार्पण आज भरतपुरमा सम्पन्न भएको छ।
लमजुङ बिचौर मा जन्मनुभएका हाल भरतपुर महानगरपालिका–१०, शान्ति इन्द्रेणी टोल निवासी साहित्य प्रेमी दवाडी ३१ वर्ष शिक्षण पेसामा रही निवृत्त उहाँ को उक्त कृति गोल्डेन एग्रो प्रा लि ले प्रकाशन गरेको हो।
गोल्डेन एभ्रो का अध्यक्ष बुद्धि बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य तथा चितवन साहित्य परिषद्का निवर्तमान अध्यक्ष, साहित्यकार केदारनाथ खनाल प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तथा त्रिवेणी साहित्य परिषद्का पूर्व अध्यक्ष प्रा. डा. नारायणप्रसाद खनाल विशिष्ट अतिथि रहनुभएको थियो।
लेखककी धर्मपत्नी चन्द्रकला दवाडीको विशेष आतिथ्यता आयोजित सो कार्यक्रम मा कवि होमनाथ घिमिरे,चितवन साहित्य परिषद् का अध्यक्ष जगन्नाथ पण्डित,चितवन उद्योग सङ्घका अध्यक्ष मदन घिमिरे, स्वस्तिक नेपाल भरतपुरका पूर्व अध्यक्ष सुदिप सिंह अधिकारी, संस्थापक अध्यक्ष हिरामान महर्जन, शिक्षक सङ्घका चितवनका पूर्व अध्यक्ष भुवानीप्रसाद पौडेल, शरदपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक भोलानाथ सापकोटा लगायत विभिन्न साहित्यिक, शैक्षिक तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको लेखक का आफन्त हरुको उपस्थिति रहेको थियो।
समारोहमा विभिन्न कवि तथा साहित्यकारहरूले कविता तथा रचनावाचन गरेका थिए। कृतिका सम्पादक प्रा. कृष्णमणि पहारीले पुस्तकमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै ‘सम्झनाका फूल’ले लेखकका जीवनका अनुभूति, स्मृति, पारिवारिक संस्कार तथा मानवीय मूल्यलाई जीवन्त रूपमा अभिव्यक्त गरेको बताउनुभयो।
लेखक दवाडीले आफ्ना माता–पिता तथा पितृहरूको गुण, कर्म र प्रेरणाप्रति सम्मान व्यक्त गर्दै कृतिलाई समर्पण गरिएको उल्लेख गर्नुभयो। उहाँले लामो शिक्षण यात्रामा प्राप्त अनुभव र जीवनका स्मृतिलाई पुस्तकमार्फत पाठकमाझ प्रस्तुत गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो।
वक्ताहरूले लेखक दवाडीको पहिलो कृतिले नेपाली साहित्यमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्दै उहाँको आगामी साहित्यिक यात्राको सफलताको शुभकामना दिएका थिए।कार्यक्रममा लेखकका छोरा युवा व्यवसायी एब सामजिक अभियन्ता बासुदेव दवाडीले स्वागत गर्दै पारिवारिक पृष्ठभूमि र पुस्तक प्रकाशन बारे बोल्नुभएको थियो।


