भरतपुर कांग्रेस सभापतिका उम्मेदवार बुद्धिकान्त न्यौपाने : राजनीतिक पृष्ठभूमिदेखि संगठनको नेतृत्वसम्म

एटुजेड समाचार

चितवन – नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको सभापति पदका लागि बुद्धिकान्त न्यौपानेले आफ्नो उम्मेदवारी प्रस्तुत गरिसकेका छन्। लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय रहँदै आएका न्यौपानेले पार्टीलाई गुट–उपगुटभन्दा माथि उठाएर एकताबद्ध र बलियो संगठनका रूपमा अघि बढाउने आफ्नो प्राथमिकता रहेको बताएका छन्।

न्यौपानेको राजनीतिक यात्रा भने केवल व्यक्तिगत सक्रियतामा सीमित छैन। उनको परिवारले समेत प्रजातन्त्र र राजनीतिक आन्दोलनका क्रममा लामो समयदेखि संघर्ष गरेको उनी बताउँछन्।

न्यौपानेका अनुसार उनकी हजुरआमा प्रजातन्त्रका लागि भएको आन्दोलनमा सक्रिय थिइन्। २०३६ सालमा चितवनमा बीपी कोइरालाको आमसभा हुँदै गर्दा सहभागी हुन जाने क्रममा पञ्चायत पक्षधरहरूले साँढे छाडेपछि साँढेको आक्रमणबाट हजुरआमाको मृत्यु भएको उनको भनाइ छ। उनका हजुरबुवाको पनि राजनीतिक यात्राकै क्रममा काठमाडौं जाने क्रममा बसमा निधन भएको उनले बताएका छन्।

यही राजनीतिक वातावरणमा न्यौपाने २०३७ सालमा जन्मिए। बाल्यकालदेखि नै नेपाली कांग्रेससँग जोडिएका उनी लामो समयदेखि पार्टीको संगठन निर्माण र सुदृढीकरणमा सक्रिय रहँदै आएका छन्।

न्यौपानेका अनुसार उनको राजनीतिक सक्रियताको मूल उद्देश्य पार्टीबाट व्यक्तिगत लाभ लिनुभन्दा संगठनलाई कसरी स्थापित र बलियो बनाउने भन्नेमा केन्द्रित रहँदै आएको छ। पार्टीभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै उनले संगठनात्मक गतिविधिमा निरन्तर काम गरेको बताउँछन्।

भरतपुर महानगरपालिकाको संगठनमा पनि न्यौपानेले विभिन्न जिम्मेवारी सम्हालेका छन्। पाँच वर्ष महानगर सदस्यका रूपमा काम गरेपछि उनी उपसभापतिको जिम्मेवारीमा पुगे। महानगरको कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हाल्दै उनले भरतपुरका २३ वटा वडामा निर्वाचन सम्पन्न गराउन भूमिका खेलेको बताएका छन्।

उम्मेदवारी घोषणा गर्दै न्यौपानेले कांग्रेसलाई गुट–उपगुटभन्दा माथि उठाएर सबैलाई समेट्ने नेतृत्व आवश्यक रहेको बताए। पार्टीभित्र रहेका विभिन्न विचार र पक्षलाई एक ठाउँमा जोड्दै संगठनलाई एकरूपताका साथ अघि बढाउनु अहिलेको आवश्यकता भएको उनको भनाइ छ।

विशेषगरी युवालाई पार्टी संगठनमा थप सक्रिय र जिम्मेवार भूमिकामा ल्याउने आफ्नो प्राथमिकता रहेको न्यौपानेले बताएका छन्।

आफ्नो उम्मेदवारीलाई न्यौपानेले व्यक्तिगत राजनीतिक आकांक्षाभन्दा पनि लामो समयदेखि आफूले बोकेको संगठन निर्माणको यात्रासँग जोडेर हेरेका छन्। परिवारले प्रजातन्त्रका लागि गरेको संघर्ष, बाल्यकालदेखि कांग्रेससँगको सम्बन्ध र पार्टीका विभिन्न जिम्मेवारीमा काम गरेको अनुभवलाई आधार बनाउँदै उनले अब महानगरको नेतृत्व सम्हाल्ने दाबी प्रस्तुत गरेका हुन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भरतपुर महानगरपालिकाको नगर अधिवेशन असोज ७ गते हुने तय भएको छ। अधिवेशन नजिकिँदै जाँदा महानगर सभापति पदका आकांक्षीहरूले आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन्। यही क्रममा न्यौपानेले पनि आफ्नो राजनीतिक पृष्ठभूमि, संगठनात्मक अनुभव र भावी योजनासहित सभापति पदमा उम्मेदवारी अघि सारेका हुन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु