कुलपितृ रिसाए के अनिष्ठ हुन्छ ?

अबको केही दिनपछी २०८३ सालको सोर्हश्राद्ध अर्थात पितृपक्ष प्रारम्भ हुदैछ । सबैको घर-घरमा आफ्ना बुवा- आमाहरु बितेको दिनको तिथिमा पितृ उद्धारको लागि अझ भनौ उहाहरुको आत्माशान्ती, तृप्ति र मुक्तिको लागि विशेष रुपमा चोखोनिष्ठामा रहेर सन्ततीहरुले आदरभाब सहित श्राद्ध गर्ने गर्दछन, गर्नु पनि पर्दछ । श्राद्ध भनेको पितृहरुको सम्झना वा पुर्खाप्रतिको सन्ततिको कर्तब्य भनौ वा पितृऋण मोचनको लागि गरिने कर्म अर्थात धार्मिक संस्कार हो । “पितृ” संस्कृतबाट आएको शब्द हो जसले बुवा र आमातर्फका मृतक पुर्खाहरु वा बंशजहरुलाइ जनाउछ ।

मानिस मर्ने बित्तिकै पितृ भै हाल्दैनन, जब मृत्युको दशौदिनमा सपिण्डिकरण समेतको कार्य सम्पन्न गरिन्छ तवमात्र मृतक पितृ कहलाउछन । मृत्युको पहिलो दिन देखी दशौ दिनसम्मको बिचको अबधिमा मृतक प्रेतकै रुपमारहने हिन्दुग्रन्थहरुमा उल्लेख भएको पाइन्छ । हाम्रो समाजमा “देवताले दिएको पितृले हर्छन” भन्ने प्रचलित भनाइ रहेकोले पनि होला, हरेकले पितृकार्य गर्दा गराउदा अझबढी साबधानी अपनाउने गर्दछन । पितृलाइ खुशी बनाउन सकियो भने आफ्नो र भाबिपुस्ताको जीवन सुखमय हुने बिश्वासले पनि यस्तो भनिए गरिएको हुन सक्ने भयो ।

सामान्यतया आफ्नो परिवारमा त्यस्तो अपृय घटना घटेको अर्थात मृत्यु भएको पहिलो बर्षदिनसम्म कुनै धार्मिककार्य वा विशेष पुजाआजा गर्ने, उत्सब गर्ने, चाडवाड मनाउने, टीकाजमरा लगाउने, रक्षासुत्र बाध्ने, मन्दिर दर्शन वा भोजभतेर आदि जस्ता कार्यहरु गरिदैन तर दैनिक रुपमा गरिने नित्य कर्महरु जस्तै गायत्रीमन्त्र जप गर्ने, सुर्यलाइ पानी चढाउने, पितृकै नाममा साझ बिहानको बत्तिबाल्ने आदि भने गरिन्छ । सबैको चलन यस्तै नै हुन्छ वा हुनुपर्छ भन्ने चाहिँ होइन, कुनै परिवारको आफ्नैचलन, परम्परा, बलमिच्याइ वा जातीय संस्कार अनुसार फरक फरक प्रचलन पनि हुनसक्ने भयो । धर्मसिन्धुमा “प्रथमे वर्षे महोत्सवादिकं न कुर्यात्” भनेर लेखिएको प्रशंङ्ग यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनसक्छ ।

पहिला पहिला मृतकको कृयामा बस्नेहरु सबैले प्रथम बार्षिकीसम्म सेतो कपडा लगाएर, अरुले छोएको वा पकाएको खाना नखाइ, शुद्ध सात्विक भोजन खाएर बरखी बारेर बस्ने प्रचलन थियो भने अहिले परिवारको एकजना सदस्य मात्रै त्यसरी बस्ने, कोहिले ४५ दिनसम्म मात्रै बस्ने गरेको त धेरैले तेर्हौदिनको दिन सम्पुर्ण कुरा पंण्डित मार्फत फुकाउने गरेको समेत देख्न पाइन्छ । अहिलेको ब्यस्त जिवनको कारणले क्रियाकर्म र बरखी बार्ने समयलाइ समेत घटाउदै लगिएको पनि हुनसक्छ तर यस्तो प्रचलनलाई पंडित गुरुजीको आदेश भन्दै मनलाग्दी तवरले संसोधन गर्दै जान मिल्ने हो कि होइन भन्ने प्रश्नपनि उठिरहेको पाइन्छ । यो छुट्टै बहसको बिषय बन्नसक्छ ।

हिजो राती मैले अनौठो सपना देखे । म कुनै घनघोर जंगलमा दाउरा काटिरहेको थिए, त्यतिबेलै मलाइ “ए कान्छा ! म घर जान लागेको, म सित जाने भए हिड” भन्दै पछाडीबाट बुवाकै जस्तो आवाज आयो । फर्केर हेरे, बाक्लो कुहिरोको कारणले मैले उहालाइ प्रष्ट त देखिन तर बुवाको आकृती भने देखे । “हजुर जाँदै गर्नु म काम सकेर आउछु” भन्दै म पुन दाउरा काटन लाग्दै गर्दा ब्युझिए ।

घडी हेरे, बिहानको ४:३० बजेको रहेछ । धेरै समय पछि सपनामै भएपनी बुवालाइ देख्दा अलिकती खुशी पनि भए भने अचानक बुवा किन सपनामा देखिनु भएको होला भनेर सोच्न पनि थाले । सायद अब सोर्हश्राद्ध आउने बेलाभएर पनि हो कि भन्ने निष्कर्ष समेत निकाले । उठेर मर्निङ्गवाक गए, आएर नुवाइ धुवाइ गरेर स्व. बुवाआमा सहित आफुले पिण्डतर्पण दिनुपर्ने अनि दिननपर्ने सम्पुर्ण पितृगणहरुलाइ स्मरण गरेर जल चढाएपछी मनमा आनन्दको, शान्तिको महसुस भयो ।

हाम्रो समाजमा कुल पितृ रिसाए भने ठुलै अनिष्ठ हुन्छ भन्ने मान्यताले जरो गाडेर बसेको छ । घरका सदस्य बिचहुने झैझगडा, पारिबारिक सम्बन्धमा तिक्तता आउनु, परिवारका सदस्य बारम्बार बिरामी हुनु, छोराछोरीको बिबाह र सन्तान प्राप्तिमा समस्या आउनु, कुनैपनी काममा सफलता हासिल नहुनु, अनेक प्रकारका दुख र झण्झड आइलाग्नु, इज्यत मानप्रतिष्ठामा कमि हुनु, गरिबिले बास गर्नु, पैसा कमाए पनि बचत शून्य हुनु, दुर्घटनामा पर्नु आदि इत्यादीको मुख्य कारण नै कुल पितृ देवता रिसाएर हो भनेर भन्ने गरिन्छ तर यसको ठोस शास्त्रीय प्रमाण भने पाइदैन ।

यस अर्थमा पितृ रिसाए भने अनिष्ठ हुन्छ भन्ने कुरा हाम्रो सामाजिक परम्परा र मान्यतामा चलीआएको बिश्वास मात्रै हो जुन धेरै हदसम्म सत्य पनि हुनसक्छ वा नहुनपनि सक्छ वा सन्तानको कुल पितृप्रतिको कर्तब्यबोध जनाइराख्नको लागि चलाइएको प्रचलन पनि हुनसक्छ वा साच्चिकै अनिष्ठ पनि हुनसक्छ । आज यसैको बिषयमा केही चर्चा गर्ने जमर्को गर्दैछु ।

श्रीमद्भगवद्गीतामा अर्जुनले पितृकर्म छुटेमा वा कुलधर्म नष्ट हुँदै गएमा पितृकर्म हराउने, लोप हुने, कुलका पितृहरुको पतन हुने र सामाजिक तथा धार्मिक अब्यबस्था उत्पन्न हुने धारणा राख्दै चिन्ता ब्याक्त गर्नुभएको पाइन्छ –

सङ्करो नरकायैव कुलघ्नानां कुलस्य च ।
पतन्ति पितरो ह्येषां लुप्तपिण्डोदकक्रियाः ॥
– श्रीमद्भगवद्गीता १।४१

यसैगरी यसैको अर्को श्लोकमा अर्जुन भन्नुहुन्छ –
दोषैरेतैः कुलघ्नानां वर्णसङ्करकारकैः ।
उत्साद्यन्ते जातिधर्माः कुलधर्माश्च शाश्वताः ॥
– गीता १।४३

हिन्दुग्रन्थ महाभारतको अनुशासन पर्वमा श्राद्ध र पितृको सम्बन्ध बारे स्पष्ट रूपमा बताइएको छ –
श्राद्धेन मासं प्रीयन्ते पितरो नृप ।
– महाभारत, अनुशासन पर्व १३।९१।३

यसैमा अझ थप स्पष्ट पार्दै श्राद्धको समय आउँदा आफ्ना पितृहरू प्रसन्न हुन्छन भनेर पनि वर्णन गरिएको पाइन्छ । “हृष्यन्ति पितरश्चास्य श्राद्धकाल उपस्थिते” । यसबाट के प्रमाणित हुन्छ भने पितृको स्मरण, श्राद्ध र तर्पणलाई शास्त्रले महत्व दिएको छ । महाभारतको अनुशासन पर्वमै पितृहरू आफैंले श्राद्धको विधि र त्यसबाट प्राप्त हुने फलको वर्णन गरेको प्रसंग पनि छ । विधिपूर्वक पितृहरुलाइ पिण्ड, जल आदि अर्पण गर्दा उनिहरू प्रसन्न हुने र कर्तालाइ सन्तान तथा समृद्धिसँग सम्बन्धित फल प्राप्त हुने कुरा उल्लेख गरिएको पाइन्छ । माथी उल्लेखित यस्तै महत्वको आधारमा नै पितृकर्म नगरेमा विभिन्न बाधा अडचन आउने, अनिष्ठ हुने भनेर समाजमा प्रचलित भएको हुनसक्ने देखिन्छ । त्यसैले पितृलाई सम्मान गर्नुपर्छ, सम्झनुपर्छ, श्राद्ध तर्पण गर्नुपर्छ भन्ने कुरा शास्त्रीय आधार भएकै कुरा हो । महाभारतमा स्पष्टै भनिएको छ –

वृद्धिं चायुश्च वीर्यं च, पितृभक्त्या हि विन्दति ।

अर्थात पितृप्रतिको भक्तिबाट वृद्धि, आयु र सामर्थ्य प्राप्त हुन्छ भने महाभारत अनुशासन पर्वकै अर्को प्रसङ्गमा –

श्राद्धैः कृतैर्भुवि नृणां, पितरो दुःखमुत्सृजन् ।

अर्थात पृथ्वीमा गरिएका श्राद्धबाट पितृहरू दुःख, कष्टको अवस्थाबाट मुक्त हुन्छन भन्ने धार्मिक धारणा प्रस्तुत गरिएको छ ।

दैवकार्याद् द्विजातीनां, पितृकार्यं विशिष्यते ।
दैवं हि पितृकार्यस्य, पूर्वमाप्यायनं स्मृतम् ॥
( मनुस्मृति ३।२०३ )

यहाँ देवकार्यको तुलनामा पितृकार्यलाई विशेष महत्त्व दिइएको छ । यसबाट मनुस्मृतिको दृष्टिमा पितृकार्य सामान्य वैकल्पिक कर्म होइन भन्ने देखिन्छ ।

नान्दीमुखः पितृगणस्तेन श्राद्धेन पार्थिव ।
प्रीयते तत्तु कर्तव्यं पुरुषैः सर्ववृद्धिषु ॥
( विष्णुपुराण ३।१३।४ )

अर्थात नान्दीमुख नामका पितृगण श्राद्धबाट प्रसन्न हुन्छन, त्यसैले मानिसले श्राद्ध गर्नुपर्छ भनेर भनिएको छ । त्यस्तै विष्णुपुराण कै ३।१३ मा जन्म, विवाह, नयाँ घरमा प्रवेश आदि शुभ अवसरमा समेत पितृसम्बन्धी कर्मको विधान देखिन्छ ।

विष्णुपुराणको ३।१६।४ मा गयामा गएर गरिने श्राद्धको बारेमा समेत बर्णित छ । त्यहा भनिएको छ कि जो व्यक्ति गयामा गएर श्राद्ध गर्छ, उसको जन्म सफल हुन्छ र त्यसबाट पितृहरूलाई सन्तुष्टि प्राप्त हुन्छ, उनिहरु खुशी हुन्छन –

गयामुपेत्य यः श्राद्धं, करोति पृथिवीपते ।
सफलं तस्य तज्जन्म, जायते पितृतीष्टिदम् ॥

पितृहरूको स्तुति तथा पितृगणको महिमा सुनेपछि उनीहरूको प्रसादबाट सबै इच्छाहरू प्राप्त हुन्छन भनेर मार्कण्डेय पुराणमा प्रस्टै लेखिएको समेत हामी पाउछौ ।

पितृस्तवं तथा श्रुत्वा, पितॄणां च तथा गणान् ।
सर्वान् कामानवाप्नोति, तत्प्रसादान्महामुने ॥
( मार्कण्डेय पुराण, अध्याय ९५ )

हिन्दुधर्मको पबित्र मुलग्रन्थ वेदले पितृहरूलाई सम्मान गर्न, उनीहरूलाई आह्वान गर्न, तर्पण अर्पण गर्न र उनीहरूबाट आयु, सन्तान, धन, सुरक्षा लगायतको आशीर्वाद माग्न निर्देश गरेको पाइन्छ । यसको अर्थ पितृ खुशी भएमा त्यस्तो मागिए अनुसारको आशिर्वाद पाइने रहेछ, नपाइने भए उनिहरुशीत माग्नको लागी किन भनिन्थ्यो सिकान्थ्यो होला त ?

उदीरतामवर उत्परास उन्मध्यमाः पितरः सोम्यासः ।
असुं य ईयुरवृका ऋतज्ञास्ते नोऽवन्तु पितरो हवेषु ॥
( ऋग्वेद १०.१५.१ )

अर्थात, तल माथि र बीचका सोमप्रिय पितृहरू उठेर यहाँ आउन, कल्याणकारी पितृहरूले हाम्रो आह्वानमा आएर हामीलाई संरक्षण गरून ।

त्यस्तै अथर्ववेदको पितृमेधसम्बन्धी सूक्तहरूमा पितृहरूलाई बोलाएर आसनमा बस्न, अर्पण स्वीकार गर्न र रोगरहित जीवन तथा धन दिन प्रार्थना गरिएको छ । साथै मानिसबाट भएका भूलहरू क्षमा गरिदिन पनि पितृहरूसँग प्रार्थना गर्न भनिएको छ भने यजुर्वेदमा “पितृभ्यः स्वधायिभ्यः स्वधा नमः” अर्थात स्वधा ग्रहण गर्ने पितृहरूलाई नमस्कार भनिएको पाइन्छ ।

श्राद्ध गर्ने परम्परालाइ कसैले आत्मैदेखी श्रद्धाराखेर बिधिपुर्बक गर्ने गर्दछन भने कसैले लोक समाजलाइ देखाउनको लागि भएपनी मनलागी नलागी बाध्यताले तातेपाते गर्ने गरेको पाइन्छ भने कसैले गर्दै गर्दैनन । केही नास्तिकहरुले पंडितलाइ दान गरेर बाबाआमाले पाउनुहुन्छ र ? भन्दै दानप्रती नै प्रश्न उठाउने गरेको पनि देख्न सुन्न पाइन्छ । कुनै सन्तानले जिउदो छन्जेल वा बुढेसकालमा आफ्ना बाबुआमालाइ उचित पालन पोषण गरेनन, सुख दिएनन, सधै दुख कष्ट पिडा मात्रै दिएका वा बोझ सम्झिएर अपमान गरेका रहेछन तर मरेपछी श्राद्धको नाटक गर्दैछन भने छरछिमेक र समाजले “बाचुन्जेल ढिडाका डल्ला त दिएनन, मरेपछी खिरका डल्ला” भन्दै खिल्ली उडाउदै कुरा काटने गरेका पनि भेटिन्छन ।

आफ्नो सन्तानको लागि माता पिता को हुनुहुन्छ ? के हुनुहुन्छ ? कस्तो हुनुहुन्छ ? के कतिसम्मको त्याग गर्न सक्नुहुन्छ भन्ने जस्तो गहन बिषयमा मैले वर्णन गर्न सक्दिन, लेख्न जान्दिन, मात्र अनुभव गर्न सक्छु । बाबुआमाले सन्तानको सुख र उज्वल भबिश्यको लागि आफ्नो सबै कुरा गुमाउन वा हारिदिन सक्छन तर अपबाद बाहेक अहिलेका धेरैका सन्तानले आबुआमाको लागि त्यसरी त्याग गर्न तयार हुदैनन । शास्त्रहरुमा आमा पृथ्वीभन्दा पनि भारी हुनुहुन्छ, महान हुनुहुन्छ भने पिता आकाश भन्दा पनि उच्च हुनुहुन्छ भनेर वर्णन गरिएको तलको यो श्लोक यहाहरु माझ साझागर्न चाहान्छु ।

पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः ।
पितरि प्रीतिमापन्ने सर्वाः प्रीयन्ति देवताः ॥
( महाभारत, शान्तिपर्व, अध्याय २७२, श्लोक २१ र
पद्मपुराण १-५०-९ )

माता गुरुतरा भूमेः खात् पितोच्चतरस्तथा।
मनः शीघ्रतरं वाताच्चिन्ता बहुतरी तृणात्॥
( महाभारत, वनपर्व, अध्याय ३१३, श्लोक ६० )

अन्त्यमा, श्राद्ध गर्नु भनेको पितृहरुप्रतिको श्रद्धा हो, उहाहरुलाइ गरिने स्मरण हो, उहाहरुको आत्मशान्तिको कामना र मोक्षको लागि गरिने धार्मिक पितृकार्य हो । हामिले हाम्रा कुलपितृहरु प्रती आफ्नो कर्तव्य सम्झेर उहाहरुको आराधना गर्यौ भने अबश्य पनि उहाहरुले हामिलाइ अप्ठ्यारो परेको बेलामा सदबुद्धी दिनुहुन्छ, हात थाप्नुहुन्छ, आशीर्वाद दिनुहुन्छ, हाम्रो जिवनमा कल्याण गर्नुहुन्छ भनेर बिश्वास गर्न सकिन्छ । उहाहरु खुशिहुदा हामिलाइ आशीर्वाद दिनुहुन्छ भनेपछी रुष्ट हुनुभयो भने पक्कै पनि श्राप दिनुहुन्छ भन्ने कुरा त कुनै शास्त्रमा नलेखिए पनि आफैले जान्नुपर्ने स्वयंसिद्ध तथ्य नै भयो । आउदै गरेको पितृपक्ष अर्थात सोर्हश्राद्धको उपलक्ष्यमा सम्पुर्ण पितृहरुमा हार्दिक नमन ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु