‘दसैँमा भेडाबाख्राझैँ कोचिएर यात्रा गर्ने दिनको अन्त्य होस्’

एटुजेड समाचार

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले दसैँको समयमा नागरिकले भोग्दै आएको कठिन यात्रा व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गराएका छन्।प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा उनले दसैँका बेला लाखौँ नागरिकले गर्ने यात्रालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकारसँग माग गरे।

सचेतक परियारले हरेक वर्ष दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट मात्रै १५ लाखभन्दा बढी नागरिक आफ्नो थातथलो फर्किने गरेको तथ्यांक प्रस्तुत गर्दै विगतका वर्षमा नागरिकले भोग्दै आएको सास्तीबारे सरकारको ध्यानाकर्षण गराए।उनले भने, ‘पहिले त टिकट पाउनै महाभारत, अनि भेडाबाख्राझैँ कोचिएर यात्रा गर्नुपर्ने बाध्यता। एकातिर बाटोका खाल्डाखुल्डीले थिलथिलो बनाउँछ भने अर्कोतिर मनपरी भाडाले नागरिक प्रताडित छन्।’

सचेतक परियारले दसैँ सुरु हुनुअघि देशभरका मुख्य राजमार्गमा रहेका खाल्डाखुल्डी तत्काल पुरेर सवारी सहज बनाउन, अग्रिम टिकट बुकिङलाई व्यवस्थित र पारदर्शी बनाई नागरिकले सास्ती नपाउने वातावरण सिर्जना गर्न र अनुगमनलाई प्रभावकारी बनाई मनपरी भाडा असुल्ने प्रवृत्ति रोक्दै सुरक्षित यात्राको सुनिश्चितता गर्न सरकारसँग माग गरे।

उनले सरकारको कार्यशैलीप्रति कटाक्ष गर्दै ‘आगलागीपछि मात्र कुवा खन्ने’ परम्परागत शैली त्याग्न आग्रह गरे। पूर्वतयारीमा कमजोरी हुँदा नागरिकले हरेक वर्ष दुःख पाउने गरेको भन्दै उनले भने, ‘अब यो पुरानो शैली पाल्ने होइन, फाल्ने बेला भयो। तब मात्र बालेन सरकारको सार्थकता रहन्छ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु