आज विश्व वातावरण दिवस, विविध कार्यक्रम गरी मनाइँदै

एटुजेड समाचार

काठमाडौं – विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ।

यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नाराका साथ यो दिवसलाई सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो। वातावरण संरक्षण र प्रकृतिमैत्री विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले देशैभरि विभिन्न सरोकारवाला निकायहरूको सक्रियतामा विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा एक विशेष समारोहको आयोजना गर्दैछ। उक्त मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

विभागका अनुसार यस विशेष कार्यक्रममा विभिन्न सरकारी निकायका प्रतिनिधि, विकास साझेदार, वातावरणविद् तथा यस क्षेत्रका सरोकारवालाहरूको ठूलो उपस्थिति रहनेछ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका पछिल्ला चुनौतीहरूको सामना तथा प्रकृतिमैत्री विकासको प्रवर्द्धनका विषयमा नागरिक स्तरमा जनचेतना अभिवृद्धि गर्न यस पटकको विश्व वातावरण दिवसलाई विशेष महत्त्वका साथ मनाउन लागिएको जानकारी दिएका छन्।

दिवसकै उपलक्ष्यमा आज देशभरका विभिन्न स्थानमा वृक्षारोपण, सरसफाइ तथा चेतनामूलक सञ्चार अभियानहरू समेत सञ्चालन गरिने विभागले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु