नारायणगढ – विश्व वातावरण दिवसको अवसरमा भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलले वातावरण सफाईको काम गरेको छ । वातावरण दिवसको अवसरमा स्कुलले आज (शुक्रबार) बिहान नारायणी नदी किनार क्षेत्रमा सरसफाई र डस्टबिन वितरण गरेको हो ।
स्कुलले आज भरतपुरका बिभिन्न क्षेत्रमा चल्ने छोटो दुरीका बस तथा म्याजिकलाई डस्टबिन वितरण गरेको जानकारी दिएको छ । अवेक नेपाल र यात्रा ग्रुपसँगको सहकार्यमा स्कुलले गरेको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी प्रमुख एसपी रमेश्वर पौडेल, ट्राफिक प्रमुख अनिल थापा स्कुलकी प्राचार्य ईन्दिरा कार्की, अवेक र यात्राका प्रतिनिधि तथा स्कुलका विद्यार्थीलगायत उपस्थित थिए ।
जथाभवी फोहोर फाल्ने कार्य न्युनिकरणका लागि भरतपुरका बिभिन्न क्षेत्रमा चल्ने छोटो दुरीका बस तथा म्याजिकलाई करिब ८० वटा डस्टविन वितरण गरिएको यात्रा् ग्रुपका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । सो क्रममा चितवनका प्रजिअ अर्यालले सवारी चालकहरुलाई डस्टबिनको उपयोग गरी जथाभावी फोहोर नफाल्न आग्रह गरेका थिए ।
डस्टबिन विरतणसँगै आज नै नारायणी नदी किनारमा सरसफाई पनि गरिएको छ । स्कुलको ईको क्लब, कम्युनिटी क्लब, ग्रीन आर्मी र स्काउटको संयोजनमा नारायणी नदी किनारमा सरसफाई गरिएको हो । सो क्रममा स्कुलकी प्राचार्य कार्कीले वातावरण सफा राख्नु सबैको दायित्व भएको बताउँदै ग्रीनल्याण्डले लामो समयदेखि नै यो अभ्यास गर्दै आएको बताईन् ।
वातावरण प्रदुषण अहिले ठूलो चुनौतीको रुपमा देखिएको भन्दै कार्कीले जथाभवी फोहोर नगर्न र वातावरण हराबरा बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिईन् । उनले स्कुलले आजदेखि एक सातासम्म वातवरण सम्बन्धी बिभिन्न कार्यक्रम गर्ने पनि जानकारी दिईन् । यस्तै कार्कीले कार्यक्रममा चितवन प्रमुख जिल्ला अधिकारीको उपस्थितिले विद्यार्थीलगायत सबैलाई उत्प्रेरित गरेको पनि बताईन् ।


