बीवाइडी आयात विवादमा साइमेक्सको स्पष्टीकरण, “आयात प्रक्रिया कानुनअनुसार भएको हो”

एटुजेड समाचार

काठमाडौं- बीवाइडी विद्युतीय सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले आफूले प्रचलित कानुन तथा भन्सार प्रक्रियाअनुसार नै गाडी आयात गरेको जनाएको छ। बजेटअघि ठूलो संख्यामा विद्युतीय सवारीसाधन आयात गरी राजस्व छली गरेको आरोप लागेपछि कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै त्यस्ता आरोप असत्य रहेको उल्लेख गरेको छ।

कम्पनीले कानुनको पालना, पारदर्शिता र व्यावसायिक अभ्यासअनुसार सम्पूर्ण आयात प्रक्रिया सम्पन्न गरिएको जनाएको छ।

साइमेक्सका अनुसार आयात गरिएका अधिकांश सवारीसाधन ग्राहकबाट पूर्वबुकिङ सुनिश्चित भइसकेका आधारमा ल्याइएका हुन्। कम्पनीले कोरला नाकाबाट जेठ १२ र १३ गते ६४९ वटा तथा रसुवा नाकाबाट जेठ ४ देखि १३ गतेसम्म ४७२ वटा विद्युतीय सवारीसाधन नेपाल भित्र्याएको जनाएको छ। यसबाहेक थप २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा पुगेको भए पनि हालसम्म जाँचपास प्रक्रिया सम्पन्न नभएको कम्पनीले जनाएको छ।

कम्पनीले बजेटअघि करको दर घट्ने वा बढ्नेबारे कुनै आधिकारिक जानकारी नहुने उल्लेख गर्दै सवारीसाधन आयात प्रक्रिया उत्पादन, एलसी खोल्ने प्रक्रिया तथा अन्तर्राष्ट्रिय ढुवानी व्यवस्थासँग जोडिएको जनाएको छ। उत्पादक कम्पनीले अर्डरका आधारमा सवारीसाधन उत्पादन गर्ने भएकाले तत्काल निर्णय गरेर ठूलो संख्यामा गाडी आयात गर्न सम्भव नहुने कम्पनीको भनाइ छ।

विज्ञप्तिमा कम्पनीले कुनै पनि चरणमा विशेष सुविधा, अनधिकृत भन्सार सहुलियत वा सरकारी निकायसँगको समन्वयमार्फत कर परिवर्तनबाट लाभ नलिएको उल्लेख गरेको छ। मौज्दात व्यवस्थापन, ग्राहकको माग, ढुवानी तालिका तथा प्रचलित कानुनी व्यवस्थाअनुसार नै आयात गतिविधि सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

साइमेक्सले सत्यतथ्य स्थापित गर्न आवश्यक सम्पूर्ण कागजात उपलब्ध गराउन तयार रहेको जनाएको छ। आयातसम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशसम्बन्धी कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी दस्तावेज सम्बन्धित निकायलाई उपलब्ध गराउन सकिने कम्पनीले जनाएको छ।

साथै, कुनै पनि छानबिन प्रक्रियामा आवश्यक सहयोग गर्न तयार रहेको कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु