काठमाडौं – अमेरिकाको न्याय मन्त्रालयले इरान समर्थित तीन जनामाथि बेलायतसहित अमेरिका र युरोपका विभिन्न स्थानमा शृङ्खलाबद्ध आक्रमणको योजना बनाएको आरोप लगाउँदै अभियोग दर्ता गरेको छ ।
अमेरिकी न्याय मन्त्रालयले उनीहरूले बेलायतको रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्ड हवाई अड्डामा समेत आक्रमणको योजना बनाएको दाबी गरेको छ । उक्त हवाई अड्डामा अमेरिकी सैनिक तैनाथ थिए ।
अभियोग लाग्नेमा इरानी नागरिक मोहसेन मोहाजेरी, इराकी नागरिक मोहम्मद अली अल-हसानी र दोहोरो इरानी–इराकी नागरिक मोहम्मद बाकेर साद दाउद अल-सादी रहेका छन् । मंगलबार सार्वजनिक गरिएको अभियोगपत्रमा उनीहरूलाई युरोपका विभिन्न स्थानमा आक्रमणको योजना बनाएको आरोप लगाइएको छ ।
अमेरिकी न्याय मन्त्रालयका अनुसार उनीहरूले आफूलाई ‘हरकत अशाब अल–यामिन अल–इस्लामिया’ (हायी) नाम दिएको समूहको नाममा आक्रमणको जिम्मेवारी लिने गरेका थिए । सन् २०२६ को वसन्त ऋतुमा उक्त समूहले युरोपमा १८ वटा आतङ्ककारी आक्रमणको जिम्मेवारी लिएको थियो । तीमध्ये सातवटा बेलायतमा भएका थिए ।
ती आक्रमणमा आगजनी, विस्फोट तथा लन्डनमा दुई यहुदीमाथि भएको चक्कु प्रहारसमेत रहेको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । उक्त घटनामा एक अमेरिकी–बेलायती दोहोरो नागरिकसमेत घाइते भएका थिए ।
एफबीआई निर्देशक काश पटेलले आठ बुँदे अभियोगपत्रले इरानले अमेरिका र युरोपमा आतङ्ककारी आक्रमण गर्ने प्रयास गरिरहेको देखाएको बताएका छन् । उनका अनुसार तीन अभियुक्त इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) र इरान समर्थित इराकी सशस्त्र समूह कताइब हिज्बुल्लाहको समर्थनमा करिब २० वटा आक्रमणको प्रयासमा संलग्न रहेको आरोप छ ।
अमेरिकी न्याय मन्त्रालयका अनुसार अभियुक्तमध्ये एकले न्युयोर्कको जेलबाटै भविष्यमा हिंसात्मक गतिविधि गर्न सहयोग पुग्ने सांकेतिक सन्देश पठाएका थिए । उनी यसअघि दर्ता भएका अन्य अभियोगमा मुद्दाको सुनुवाइ पर्खंदै जेलमा रहेका छन् । बाँकी दुई अभियुक्तले इरानबाटै सम्पर्क र समन्वय गरेको आरोप छ ।
आरएएफ फेयरफोर्ड हवाई अड्डानजिक गत सेप्टेम्बर २७ मा तीनवटा शङ्कास्पद भ्यान देखिएपछि प्रहरीले ठूलो सुरक्षा घटना घोषणा गरेको थियो । स्थानीय एक किसानले पार्टीबाट घर फर्कने क्रममा ती भ्यान देखेपछि प्रहरीलाई खबर गरेका थिए । भ्यानमा विस्फोटक पदार्थ फेला नपरे पनि केही मात्रामा पेट्रोल बरामद भएको थियो ।
अमेरिकी न्याय मन्त्रालयका अनुसार अल–हसानीले अगस्टमै बेलायतमा रहेका आफ्ना सहयोगीलाई हवाई अड्डाको निगरानी गर्न र आक्रमणको तयारीका लागि आवश्यक बन्दोबस्ती मिलाउन निर्देशन दिएका थिए । उनले सेप्टेम्बरमा पनि आक्रमणको तयारीका लागि विभिन्न व्यक्तिलाई रकम दिएको आरोप छ ।
उक्त घटनापछि अमेरिकाले आरएएफ फेयरफोर्ड हवाई अड्डाबाट आफ्ना सबै बमवर्षक विमान फिर्ता लगेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई अड्डामा देखिएको सुरक्षा जोखिमलाई विमान फिर्ता गर्नुको कारण बताएका थिए ।
यता, इरानले भने आरएएफ फेयरफोर्ड घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । लन्डनस्थित इरानी दूतावासले घटनासँग इरानलाई जोड्ने दाबीलाई आधारहीन र दुर्भावनापूर्ण अड्कलबाजी भन्दै खण्डन गरेको छ ।


