भाइटीकामा दिदीबहिनी र दाजुभाइ नहुनेहरूका लागि खुल्यो रानीपोखरीको बालगोपालेश्वर

एटुजेड समाचार

काठमाडौं। दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौंको रानीपोखरीको बीचमा रहेको ऐतिहासिक बालगोपालेश्वर मन्दिर पूजा, दर्शन र टीका ग्रहणका लागि खुला गरिएको छ।

वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुने नागरिकहरूले पुगेर पूजा-आराधना गरी सप्तरङ्गी टीका लगाउने गर्छन्।

राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको अल्पायुमै निधन भएपछि शोकमा परेकी रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ। पोखरीको ठीक बीचमा सोही समयमा बालगोपालेश्वर मन्दिर स्थापना गरिएको थियो।

विसं २०३५ अघिसम्म रानीपोखरीभित्र प्रवेश गरेर मन्दिर पुग्ने क्रममा सर्वसाधारण पोखरीमा हामफाल्ने जोखिम र अप्रिय घटनाहरू बढेकाले सुरक्षाका कारण मन्दिर बन्द गर्ने गरिन्थ्यो। त्यसबेला दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनी जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा भेला भई टीका लगाउने गर्दथे।

विसं २०३५ पछि बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि नियमित रूपमा खुला गर्न थालिएको हो। विसं २०७२ वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त भएपछि विसं २०७७ सम्म पुन: भक्तजनहरू जयवागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमै पुग्ने गरेका थिए। भूकम्पपछिको पुनर्निर्माण सम्पन्न भएसँगै विसं २०७७ देखि बालगोपालेश्वर मन्दिर पुनः सर्वसाधारणका लागि खुला गरिएको हो।

जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि आजका दिन दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूले पूजा-दर्शन गरी टीका लगाउने परम्परा कायमै छ। पछिल्लो समय बालगोपालेश्वर मन्दिर नियमित खुल्न थालेपछि खञ्जनेश्वरमा पहिलेको तुलनामा केही कम उपस्थिति भए पनि भाइटीकाका दिन त्यहाँ भक्तजनहरूको लामो लाम लाग्ने गर्छ।

यसैबीच, आज भाइटीकाका दिन काठमाडौं महानगरपालिकाले बालगोपालेश्वर मन्दिरमा पुग्ने भक्तजनहरूका लागि सुरक्षा, सरसफाइ र सहज दर्शनको आवश्यक सम्पूर्ण प्रबन्ध मिलाएको जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु