चितवन – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुर क्षेत्रका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
२०८३ कार्तिक २७ गते (नोभेम्बर १३, २०२६) मा परेको वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनलले चितवन क्षेत्र (चितवन रिजनल) अन्तर्गतका शाखाहरु नारायणगढ, पर्सा र कावासोती शाखामार्फत विभिन्न मितिमा रक्तदान कार्यक्रम, खाद्यान्न लगायत विभिन्न सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण तथा स्वास्थ्य र शिक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
कार्यक्रम अन्तर्गत कार्तिक १७ गते (नोभेम्बर ३) मा कावासोती शाखाको परिसरमा बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम हुनेछ । त्यसैगरी कावासोती–८ स्थित श्री मौलाकालिका अपाङ्ग सेवा संस्थालाई खाद्यान्न तथा भाँडाकुँडा लगायतका विभिन्न घरायसी सामग्री सहयोग गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, कार्तिक १९ गते (नोभेम्बर ५) मा नारायणगढ शाखाले भरतपुर–७, टाइगर चोकस्थित सानो घर सुनौलो पल बालगृहमा सहयोग गर्नुका साथै उक्त बालगृहमा रहेका बालबालिकासँग आत्मीय समय बिताउने कार्यक्रम तय गरेको छ ।
कार्तिक २० गते (नोभेम्बर ६) मा पर्सा शाखाको परिसरमा रक्तदान कार्यक्रम आयोजना हुनेछ ।
सोही दिन बिहान १० बजेदेखि इच्छाकामना गाउँपालिका–७, दाहाखानीस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय, खेतबारीमा विशेष सामाजिक सेवा कार्यक्रम सञ्चालन गरिनेछ ।
नारायणगढ, पर्सा र कावासोती तीनवटै शाखाको सहभागितामा आयोजना हुने उक्त कार्यक्रममा विद्यार्थीलाई न्यानो कपडा (स्वेटर), शैक्षिक सामग्री तथा स्टेशनरी वितरण गरिनेछ । साथै विद्यार्थी तथा अभिभावकलाई शिक्षा, स्वास्थ्य र व्यक्तिगत सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
ग्रेस इन्टरनेशनल चितवन क्षेत्रका निर्देशक गणेश लामिछानेका अनुसार वार्षिकोत्सवका अवसरमा आयोजना हुने यी कार्यक्रमहरूमा तीनवटै शाखाका कर्मचारी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको सहभागिता रहनेछ ।
संस्थाले आफ्नो २०औँ वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा उपयोग गर्दै समुदायमा सहयोग र सेवाका गतिविधि सञ्चालन गर्न लागेको जनाएको छ ।
ग्रेस इन्टरनेशनलले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, युके, क्यानडा, युएसए, न्यूजिल्याण्ड लगायतका देशहरुमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श, आइइएलटिएस र पिटिई कक्षा सञ्चालन र भिसा प्रोशेसिङ्गमा सहयोग गर्दै आइरहेको छ ।
ग्रेस इन्टरनेशनलले अष्ट्रेलिया, न्यूजिल्याण्ड, भारत, फिलिपिन्स, केन्या लगायत १० भन्दा बढी देशहरूबाट आफ्ना सेवाहरू सञ्चालन गर्दै आएको छ । यो संस्था विद्यार्थी तथा अभिभावकहरूका लागि भरपर्दो एवम् विश्वसनीय शैक्षिक परामर्श संस्थाका रूपमा परिचित छ ।
ग्रेस इन्टरनेशनलले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न यस्तै सामाजिक कामहरु गर्दै आइरहेको छ । यसैअन्तर्गत वर्षेनी वार्षिकोत्सवको अवसरमा भने सप्ताहव्यापीरुपमै सामाजिक कार्यक्रम गर्ने गरेको छ ।


