चितवन – चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्त समारोह सम्पन्न भएको छ । नेपाल सितोरियो कराते संघको आयोजनामा भरतपुर कभर्ड हलमा भएको समारोहबाट १२९ जना खेलाडीहरु दिक्षित भएका छन् ।
तीन दिन चलेको कार्यक्रममा बागमती प्रदेशका चितवन, धादिङ र सिन्धुलीबाट १२९ जना खेलाडीहरु सहभागी थिए । उनीहरु मध्य ११३ जना फर्स्ट डनबाट दिक्षित भएका छन् । यस्तै सकेन्ड डनबाट १२ र थर्ड डनबाट ४ जना दिक्षित भएको सितोरियो कराते संघ बागमती प्रदेश अध्यक्ष गगन लामाले जानकारी दिए ।
उनीहरुलाई नेपाल सितोरियो कराते संघका प्रशिक्षक महेश कुमार श्रेष्ठले तीन दिन प्रशिक्षण दिएका थिए । समापन समारोहका प्रमुख अतिति नेपाल सितेरियो कराते संघका केन्द्रीय अध्यक्ष दावा गुरुङले खेलाडीहरु दिक्षित हुनु आँफैमा एउटा उपलब्धि भएको बताए । उनले दिक्षित खेलाडीहरुलाई आगामी दिनमा थप जिम्मेवार हुँदै राष्ट्रका लागि योदगान गर्न सुझाव दिए ।
चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले खेलाडीहरुलाई आफूले सिके जानेका ज्ञान सिपबाट नव प्रतिभाहरुलाई प्रेरित गर्न आग्रह गरे । उनले खेलाडीहरुलाई अन्तराष्ट्रिय स्तरमा नै देशको पहिचान स्थापित गर्न शुभकामना दिए ।


