शुल्कवृद्धिविरुद्ध अखिल (क्रान्तिकारी) चितवनको आन्दोलनपछि महानगरद्वारा निर्णय स्थगित

एटुजेड समाचार

चितवन – निजी विद्यालयले गरेको शुल्कवृद्धिविरुद्ध अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले सुरु गरेको आन्दोलनले सकारात्मक परिणाम पाएको छ।

संगठनको विरोध, विद्यार्थी तथा अभिभावकको दबाब र विभिन्न सरोकारवाला पक्षको ध्यानाकर्षणपछि भरतपुर महानगरपालिकाले शुल्कवृद्धिसम्बन्धी निर्णय स्थगित गरेको छ।

२०८३ कात्तिक १० गते अखिल (क्रान्तिकारी) जिल्ला समितिले विज्ञप्ति जारी गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुखसमक्ष शुल्कवृद्धिको निर्णय पुनर्विचार गर्न माग गरेको थियो। संगठनले माग सम्बोधनका लागि ७२ घण्टे अल्टिमेटमसमेत दिएको थियो।

त्यसपछि चितवनमा यस विषयले राजनीतिक तथा शैक्षिक क्षेत्रमा चर्चा पाएको थियो। विभिन्न राजनीतिक दल, पत्रकार, विद्यार्थी संगठन र अभिभावकले शुल्कवृद्धिविरुद्ध आवाज उठाएपछि महानगरपालिकामाथि निर्णय पुनर्विचार गर्न चौतर्फी दबाब सिर्जना भएको थियो।

अखिल (क्रान्तिकारी) चितवनका अध्यक्ष सुशील कार्की ‘अब्दुल’, केन्द्रीय सचिवालय सदस्य पवन गुरुङ तथा महानगर समिति अध्यक्ष आकर्षक खतिवडा लगायतको सक्रियतामा आन्दोलन अघि बढाइएको संगठनले जनाएको छ।

निर्णय स्थगित भएपछि अध्यक्ष सुशील कार्की ‘अब्दुल’ले विद्यार्थी र अभिभावकको एकताबद्ध आवाज तथा निरन्तर संघर्षले सकारात्मक परिणाम दिएको प्रतिक्रिया दिएका छन्।

उनले भने, “यो उपलब्धि कुनै एउटा संगठनको मात्र होइन, विद्यार्थी र अभिभावकको साझा आवाजको परिणाम हो। हामीले उठाएको आवाज विद्यार्थीको भविष्य र अभिभावकको आर्थिक पीडासँग जोडिएको थियो। शुल्कवृद्धिको निर्णय स्थगित हुनु सकारात्मक उपलब्धि हो। तर विद्यार्थीमाथि अन्याय दोहोरिए आवश्यक परे फेरि संघर्षको मैदानमा उत्रिनेछौँ।”

संगठनले शुल्क निर्धारण प्रक्रिया प्रचलित कानुन र महानगरपालिकाको मापदण्डअनुसार पारदर्शी तथा न्यायोचित बनाउनसमेत माग गरेको छ।

७२ घण्टे अल्टिमेटमबाट सुरु भएको खबरदारी र त्यसपछि विकसित चौतर्फी दबाबले विद्यार्थी अधिकारका पक्षमा संगठित आवाजको महत्वलाई उजागर गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु