चितवन – चितवनमा तीन महिनामा २८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । चितवनमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा २८ जनाले नेपाली नागरिकता परित्याग गरेका हुन् । नागरिकता परित्याग गर्नेमा १० जना महिला र १८ जना पुरुष रहेका छन्।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार साउनदेखि असोज मसान्तसम्मको अवधिमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय माडीबाट गरी २८ जनाले नागरिकता परित्याग गरेका हुन्। सोही अवधिमा चार जनाको नागरिकता रद्द गरिएको छ।
नागरिकता परित्याग गर्नुको मुख्य कारण विदेशमा बसोबास गर्दै आएका नेपालीहरूले सम्बन्धित देशको नागरिकता लिन नेपाली नागरिकता त्याग्ने गरेको पाइएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङले बताए।
यस अवधिमा जिल्लामा वंशजका आधारमा ३ हजार ६२ जनाले नेपाली नागरिकता प्राप्त गरेका छन्। जसमध्ये जिल्ला प्रशासन कार्यालय चितवनबाट २ हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले नागरिकता लिएका छन्।
त्यस्तै, तीन महिनाको अवधिमा ६ हजार ७ सय ६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयबाट ६ हजार ११६ र माडीस्थित इलाका प्रशासन कार्यालयबाट ६५० वटा प्रतिलिपि जारी गरिएको हो।
यसैगरी, ३१ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् भने राहदानी सेवातर्फ ५ हजार ८५२ जनालाई राहदानीका लागि सिफारिस गरिएको छ। यस अवधिमा ४ हजार २४३ वटा राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


