चितवन – चितवनको मौलिक कला, संस्कृति तथा नेवारी परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले भरतपुर महानगरपालिका–६ मा आयोजना हुन लागेको ‘जिल्ला स्तरीय परम्परागत लाखे नाच प्रतियोगिता तथा फुड फेस्टिभल–२०८३’ को तयारी अन्तिम चरणमा पुगेको छ।
यसअघि कात्तिक १४ र १५ गते दुई दिनसम्म सञ्चालन गर्ने भनिएको कार्यक्रम वर्षाका कारण एक दिनमा सीमित गरिएको आयोजकले जनाएको छ। अब प्रतियोगिता तथा फुड फेस्टिभल कात्तिक १५ गते मात्रै सञ्चालन हुनेछ।
नेवा: देय दबू भरतपुर महानगरपालिका–६ वडा समितिको आयोजना तथा भीमेश्वर गुठी र आन्तरिक सेवा सहयोगी गुठीको सह–आयोजनामा कार्यक्रम भरतपुर–६ स्थित सिद्धेश्वर खेल मैदानमा हुनेछ।
नेवारी समुदायको ऐतिहासिक तथा सांस्कृतिक पहिचानका रूपमा रहेको लाखे नाचको संरक्षण, पुस्तान्तरण र प्रवर्द्धन गर्नुका साथै चितवनको सांस्कृतिक पर्यटनलाई टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा भरतपुर महानगरपालिका सहित चितवन जिल्लाका विभिन्न क्षेत्रका लाखे नाच समूहहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई नगद पुरस्कार प्रदान गरिनेछ। जसअनुसार प्रथम हुने समूहले ३० हजार रुपैयाँ, द्वितीय हुनेले १५ हजार रुपैयाँ, तृतीय हुनेले १० हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने समूहले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
लाखे नाच प्रतियोगितासँगै आयोजना हुने फुड फेस्टिभलमा नेवारी परिकार तथा स्थानीय खानाका विविध स्वादको प्रवर्द्धन गरिनेछ। सांस्कृतिक कार्यक्रम र परम्परागत खानालाई एउटै उत्सवमा जोडेर स्थानीय कला, संस्कृति, पर्यटन तथा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने आयोजकको लक्ष्य छ।
नेवा: देय दबू भरतपुर–६ का अध्यक्ष राजनकुमार श्रेष्ठले लाखे नाच नेवारी समुदायको ऐतिहासिक तथा सांस्कृतिक पहिचान भएकाले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताए। उनले प्रतियोगितामार्फत मौलिक संस्कृति जोगाउने, नयाँ पुस्तालाई परम्परासँग जोड्ने र जिल्लाको सांस्कृतिक गतिविधिलाई थप सक्रिय बनाउने उद्देश्य राखिएको बताए।
त्यस्तै, समितिका सचिव अरुण श्रेष्ठले कार्यक्रम सफल बनाउन स्थानीय संघसंस्था, व्यवसायी तथा समुदायका सबै पक्षको सहयोग महत्त्वपूर्ण हुने बताए। उनले प्रतियोगिता तथा फुड फेस्टिभलमा सहभागी भई मौलिक कला, संस्कृति र परम्पराको संरक्षण अभियानमा साथ दिन सबैलाई आग्रह गरे।
कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आयोजकले सहयोगी संस्था, व्यवसायी, स्थानीय समुदाय तथा संस्कृतिप्रेमीहरूलाई आर्थिक तथा अन्य आवश्यक सहयोगका लागि आह्वानसमेत गरेको छ।


