सवारी दर्ता र नामसारीमा नयाँ नियम, अब धनी स्वयं उपस्थित हुन नपर्ने

एटुजेड समाचार

काठमाडौं । नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई थप सहज र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा महत्वपूर्ण संशोधन गरिएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनु नपर्ने गरी विभिन्न नयाँ प्रावधानहरू लागू गरिएका छन्।

संशोधित व्यवस्थाअनुसार अब आधिकारिक डिलरबाट गरिएका सवारी साधनको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ। यससँगै डिलरबाट जाँच भइसकेका सवारी साधनहरूलाई पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने झन्झट समाप्त भएको छ।

त्यस्तै, सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिको माध्यमबाट पनि सवारी दर्ता तथा नामसारी गर्न सकिने व्यवस्था मिलाइएको छ। यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, सवारी खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ।

यसैगरी, सवारी साधनको बीमा तथा बीमा नवीकरणका लागि पनि सवारी धनी स्वयं उपस्थित हुनुपर्ने ९बाध्यताको अन्त्य गरिएको छ। अब सवारी धनीको प्रत्यक्ष उपस्थितिबिना नै यी सबै प्रक्रियाहरू अगाडि बढाउन सकिनेछ। सवारी साधन नामसारीका क्रममा बायोमेट्रिक विवरण संकलन गर्नका लागि यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा सम्बन्धित कम्पनीहरूलाई आवश्यक पर्ने प्राविधिक पहुँच उपलब्ध गराउनेछ।

सरकारको यस संशोधित प्रावधानले सेवाग्राहीहरूलाई कार्यालय धाउनुपर्ने लामो समयको झन्झटबाट मुक्ति दिने र सेवा प्रवाहमा पारदर्शिता तथा सुगमता आउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु