एनपीएल सिजन ३ का लागि जनकपुर बोल्ट्सले सार्वजनिक गर्‍यो नयाँ जर्सी

एटुजेड समाचार

काठमाडौँ — जनकपुर बोल्ट्सले एनपीएल तेस्रो सिजनका लागि सोमबार आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ । प्रमुख प्रायोजक एक्सट्रिम इनर्जी ड्रिंक र एसोसिएट पार्टनर याङ्गोको ब्रान्डिङसहित टिमको नयाँ जर्सी तयार पारिएको बोल्ट्सले जनाएको छ ।

टिमको परिचित म्याजेन्टा र नेभी रङलाई कायम राख्दै यसपालि कलर, बाहुला र जर्सी नम्बरमा सुनौलो रंग थपिएको छ । म्याजेन्टा जोसको, नेभी शक्तिको र सुनौलो रङ पुनरागमनको प्रतीकका रूपमा राखिएको बोल्ट्सले जनाएको छ । जर्सीको माथिल्लो भागमा परम्परागत बुट्टा ढाँचा र तल्लो भागमा कमलको मण्डला अंकित छ भने ट्राउजरमा बिजुली आकारको म्याजेन्टा धर्सा र सुनौलो किनारा राखिएको छ ।

गत सिजनको नतिजाबाट पाठ सिक्दै बोल्ट्सले एनपीएलको सिजन ३ लाई पुनरागमन सिजनमा अघि बढाएको छ । नयाँ जर्सी त्यही संकल्पको प्रतीक भएको बोल्ट्सको दावी छ । ‘गत सिजनले हामीलाई धेरै कुरा सिकायो, यो जर्सी त्यही सिकाइ र मधेशको गौरवको प्रतीक हो । सुनौलो रङ हामीले यस सिजन हासिल गर्न चाहेको लक्ष्यको सम्झना हो । मैदानमा यो जर्सी लगाउने हरेक खेलाडीले मधेशका लागि मन दिएर खेल्नेछन्,’ बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले भने ।

‘हामीले नयाँभन्दा आफ्नै पहिचान अझ बलियो बनाउने प्रयास गरेका छौं, म्याजेन्टा र नेभी बोल्ट्सको पहिचान हो, सुनौलो रङ यस सिजनको कथा हो, बोल्ट्सका समर्थकले यो जर्सी गर्वसाथ लगाउनुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ बोल्ट्सका प्रमुख मार्केटिङ अधिकृत उदीप पराजुलीले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु