काठमाडौं । केयरगिभरका रूपमा इजरायल पठाउने प्रलोभन देखाई ठगी गरेको अभियोगमा पक्राउ परेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले उनलाई हिरासतबाहिरै राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको हो। पक्राउ परेका अन्य प्रतिवादीहरूको बयानमा खड्काको पोलगोलासमेत नदेखिएको र पीडितहरूले दर्ता गराएको जाहेरीमा उनले रकम लिएको वा कसुरमा संलग्नता रहेको पुष्टि हुने कुनै तथ्य उल्लेख नभएकाले थुनामा राख्न आवश्यक नरहेको अदालतको ठहर छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले इजरायल ठगी प्रकरणमा खड्कासहित हालसम्म पाँच जनालाई नियन्त्रणमा लिइसकेको छ। पक्राउ पर्ने अन्य व्यक्तिहरूमा नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईं, दोलखाका बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ रहेका छन्।
सुरुमा दुई जनालाई नियन्त्रणमा लिएर ठगी कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले अनुसन्धानका क्रममा अन्य व्यक्तिहरूको पनि संलग्नता देखिएको र ठगी संगठित रूपमा भएको पाइएपछि संगठित अपराधको कसुरमा समेत थप अनुसन्धान थालेको छ।


