चितवन — स्पाउस क्लब अफ आरसी चितवन र रोटरी क्लब अफ चितवनले इच्छाकामना गाउँपालिका–७, खेतबारीस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयका १६४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।
शुक्रबार (असोज २३) आयोजित कार्यक्रममा करिब २० हजार रुपैयाँ बराबरका कापी, पेन्सिल, डटपेन, इरेजर र पेन्सिल कटरलगायतका शैक्षिक सामग्री वितरण गरिएको हो।
स्पाउस क्लब अफ आरसी चितवनकी अध्यक्ष जानकी तिवारी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी क्लब अफ चितवनका अध्यक्ष गेहेन्द्रमान श्रेष्ठ प्रमुख अतिथि तथा क्लबका पूर्वअध्यक्ष टीकाराम कँडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम श्याङ्तान विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको सञ्चालन स्पाउस क्लबकी सचिव बबिता घिमिरेले गरेकी थिइन्।
कार्यक्रममा अध्यक्ष शर्माले स्पाउस क्लबले शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको बताइन्। विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको उनको भनाइ थियो।
कार्यक्रममा रोटरी क्लब अफ चितवनका पूर्वअध्यक्ष परिषद्का अध्यक्ष भानु शर्माले रोटरी अन्तर्राष्ट्रिय अभियानको उद्देश्य तथा सामाजिक सेवामा रोटरीको भूमिकाबारे प्रकाश पारे। उनले क्लबले सञ्चालन गर्दै आएका कार्डियो केयर परियोजना, मेरुदण्डको चोटसम्बन्धी पुनःस्थापना केन्द्र, देवघाटस्थित करुणालय वृद्धाश्रम, खानेपानी, सिँचाइ तथा सरसफाइका कार्यक्रम, शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) तालिम र शैक्षिक तथा खेलकुद सामग्री वितरणजस्ता गतिविधिबारे जानकारी दिए।
शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिने लगानीले समुदायको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले विद्यार्थी तथा समुदायमा सकारात्मक प्रभाव पार्ने बताए। शैक्षिक सामग्री प्राप्त गर्ने विद्यार्थीमध्ये चेपाङ समुदायका ९३ जना, दलित समुदायका ८ जना र अन्य समुदायका ६३ जना रहेका छन्। लाभान्वित विद्यार्थीमध्ये ७७ जना छात्रा छन्।
विद्यालयका प्रधानाध्यापक देवबहादुर गुरुङले विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने गरी शैक्षिक सामग्री उपलब्ध गराएकोमा दुवै आयोजक संस्थाप्रति आभार व्यक्त गरे। उनले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विद्यालय र विद्यार्थीको शैक्षिक विकासमा योगदान पुर्याएकोमा रोटरी क्लब अफ चितवन र स्पाउस क्लबको प्रशंसा गरे।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले रोटरी क्लब अफ चितवनले सञ्चालन गरिरहेका सामाजिक गतिविधिबारे चर्चा गर्दै आगामी दिनमा विद्यार्थीलाई लक्षित गरी मुटुसम्बन्धी स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिए। उनले विद्यार्थीको स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिँदै समुदायमा सकारात्मक परिवर्तन ल्याउन क्लब निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा प्रधानाध्यापक गुरुङले आयोजक संस्थाका प्रतिनिधिहरूलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

विद्यार्थीको शैक्षिक आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले ग्रामीण क्षेत्रका बालबालिकाको पठनपाठनमा सहयोग पुर्याउनुका साथै शिक्षा र सामुदायिक विकासमा सामाजिक संस्थाहरूको योगदानलाई थप उजागर गरेको छ।


