चितवन – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा चितवन क्षेत्र नं. ३ बाट ३५ वर्षमुनिको युवा क्लस्टरअन्तर्गत महाधिवेशन प्रतिनिधि पदमा युवा नेता सागर सुबेदीले उम्मेदवारी दिने तयारी गरेका छन्।
लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय सुबेदीले नेपाल विद्यार्थी संघको जिल्ला उपसभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
विद्यार्थी तथा युवाका सवालमा निरन्तर सक्रिय रहँदै आएका उनले पार्टी संगठनमा युवा सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन्।
पुस्ता हस्तान्तरण र संगठनमा नयाँ ऊर्जा आवश्यक रहेको बहस चलिरहेका बेला सुबेदीले युवा पुस्ताको ऊर्जा र अनुभवी पुस्ताको अनुभवलाई समेटेर अघि बढ्ने धारणा अघि सारेका छन्।
उनको उम्मेदवारीसँगै क्षेत्र नं. ३ को युवा क्लस्टरमा उनको चर्चा सुरु भएको समर्थकहरूको भनाइ छ। विद्यार्थी राजनीतिदेखि पार्टी संगठनसम्मको अनुभव र युवासँगको निरन्तर सम्बन्धलाई उनले आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गरेका छन्।
सुबेदीको मुख्य सन्देश छ— “युवा ऊर्जा र अनुभवी पुस्ताको अनुभवलाई जोड्दै नयाँ पुस्ताको सहभागितासहित गतिशील कांग्रेस निर्माण।”


