त्रिपुरेश्वर बस आगलागी : आफैंले आगो लगाएका चालक दावा लामाको निधन

एटुजेड समाचार

काठमाण्डौ – काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालक २५ वर्षीय दावा लामाको उपचारका क्रममा निधन भएको छ।काभ्रे घर भएका लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति निधन भएको प्रहरी स्रोतले पुष्टि गरेको छ।

अस्पतालका अनुसार आगलागीबाट चालक लामाको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको थियो। सोमबार मध्याह्न करिब १ बजे उद्धार गरी उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो।

सोमबार दिउँसो त्रिपुरेश्वर चोकस्थित बस स्टपमा ऋद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा अचानक आगलागी भएको थियो। यात्रुहरू ओर्लिसकेपछि चालक लामा आफैँले बसभित्र आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। आगो लगाउनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियाे।

यसैबीच, घटनाको सत्यतथ्य पत्ता लगाउन काठमाडौं उपत्यका प्रहरी कार्यालय (रानीपोखरी) ले छानबिन समिति गठन गरेको छ। वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश बस्नेतको संयोजकत्वमा गठित उक्त समितिलाई घटनाको विस्तृत अनुसन्धान गरी ५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ। समितिले ट्राफिक प्रहरीसँग भएको विवाद र आगलागीको मुख्य कारणबारे सूक्ष्म अनुसन्धान अघि बढाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु