काठमाडौँ – नेपालले त्रिवि क्रिकेट मैदानमा बंगलादेशविरुद्ध तीन खेलको टी–२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सिरिज मार्चमा हुनेछ र यो दुवै देशका क्रिकेट बोर्डको संयुक्त प्रयासमा हुन लागेको हो ।
सिरिज नेपालमा आएको विनाशकारी बाढीको क्रममा ज्यान गुमाएकाको स्मृतिमा समर्पित रहनेछ । यस्तै, क्यानले यो सिरिजबाट नेपाली क्रिकेटको दीर्घकालीन विकासमा सहयोग पुग्ने पनि विश्वास पोखेको छ । सिरिजका खेल मार्चको २६, २८ र ३० मा हुनेछन् ।
क्यानका अनुसार बंगलादेशले नेपाली क्रिकेटको दीर्घकालीन विकासका लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ । त्यसै अनुसार बंगलादेशी बोर्डले महिला र उमेर समूहको क्रिकेट विकास तथा पूर्वाधार निर्माणमा पनि सहयोग गर्नेछ ।


