नुवाकोट – बाढीपीडित राहत कार्यक्रमअन्तर्गत चितवन रोटरी क्लबले नुवाकोटको विदुर नगरपालिका–८ र ९ स्थित शुनाखेती लिफ्ट खानेपानी तथा सिँचाइ योजनामा २० हजार वाट क्षमताको सोलार प्रणाली जडान गरी सञ्चालनमा ल्याएको छ।
विद्युत् अभावका कारण आंशिक रूपमा मात्रै सञ्चालन हुँदै आएको पम्पिङ प्रणालीमा सोलार प्रणाली जडान भएपछि खानेपानी तथा सिँचाइ सेवा नियमित सञ्चालनमा आएको हो। क्लबले निर्माण सम्पन्न गरेको उक्त सोलार प्रणाली उपभोक्ता समितिलाई हस्तान्तरणसमेत गरेको छ।
चितवन रोटरी क्लबको प्राविधिक तथा व्यवस्थापकीय सहयोग तथा अस्ट्रेलियामा रहेका मानबहादुर तामाङको आर्थिक सहयोगमा सोलार प्रणाली निर्माण गरिएको हो।
उक्त योजनाबाट करिब ३ सय घरपरिवार, त्रिशूली प्रादेशिक अस्पताल, तीनवटा सामुदायिक विद्यालय तथा पाँचवटा होल्डिङ सेन्टर प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइएको छ।
कार्यक्रममा चितवन रोटरी क्लबका वर्तमान अध्यक्ष गेहेन्द्रमान श्रेष्ठले सोलार प्रणाली उपभोक्ता समितिलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा क्लबका निर्वाचित अध्यक्ष राजन पिया, निवर्तमान अध्यक्ष रामचन्द्र अधिकारी तथा पूर्व अध्यक्षहरू उत्तमलाल चुके, कल्याण जोशी, भानु शर्मा र ज्ञानेन्द्रमान शाक्य सहित सेवा परियोजना चेयर गुनेश्वर महतोको उपस्थिति रहेको थियो।
सोही अवसरमा बाढीका क्रममा १ हजार ६ सय ४३ विद्यार्थीलाई सुरक्षित राख्न सफल भूमिका निर्वाह गरेका त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीलाई खेलकुद सामग्रीसमेत हस्तान्तरण गरिएको थियो।

बाढीका कारण प्रभावित समुदायमा तत्कालीन राहतसँगै दीर्घकालीन रूपमा आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने उद्देश्यले गरिएको यो पहलले खानेपानी, सिँचाइ, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


