भोटेकोशी बाढीले विद्युत् क्षेत्रमा संकट, कुल उत्पादन क्षमताको १० प्रतिशत प्रभावित

एटुजेड समाचार

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रणालीबाट बाहिरिएको छ।

बाढीले जलविद्युत् गृह, प्रसारण लाइन र सबस्टेशनहरू ध्वस्त पारेपछि ४३१.१ मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ भने विभिन्न आयोजनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा प्राविधिकहरू सम्पर्कविहीन भएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार विद्युत् उत्पादन, प्रसारण र वितरण संरचनामा ठूलो क्षति पुगे पनि हालसम्म राष्ट्रिय प्रणालीलाई सन्तुलित राख्न नेपाल विद्युत् प्राधिकरण सफल भएको छ।

तर, क्षतिको दायरा अत्यन्त फराकिलो भएकाले आगामी दिनमा माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने भन्दै प्राधिकरणले आपत्कालीन व्यवस्थापनलाई तीव्रता दिएको छ।

बाढीका कारण सञ्चालनमा रहेका १२ वटा विद्युत् उत्पादन केन्द्रहरू पूर्ण रूपमा बन्द भएका छन्। जसअन्तर्गत रसुवागढी (१११ मेगावाट), माथिल्लो त्रिशूली-३ ‘ए’ (६० मेगावाट), सालासुङ्गी (७८ मेगावाट), साञ्जेन (४२.५ मेगावाट), त्रिशूली (२४ मेगावाट), चिलिमे (२२ मेगावाट), लाङटाङ (२० मेगावाट), माथिल्लो साञ्जेन (१४.८ मेगावाट), माथिल्लो मैलुङ (१४.८ मेगावाट), देवीघाट (१४ मेगावाट), मैलुङ (५ मेगावाट) र प्राधिकरणको सौर्य आयोजना (२५ मेगावाट) को उत्पादन ठप्प भएको हो।

यसबाहेक सोही नदी बेसिनमा निर्माणाधीन ४७० मेगावाटका १५ वटा जलविद्युत् आयोजनामा समेत भौतिक क्षति पुगेको छ।

बाढीका कारण विभिन्न आयोजनामा कार्यरत कर्मचारी तथा कामदारहरू ठूलो संख्यामा सम्पर्कविहीन भएका छन्। प्राधिकरणको विवरणअनुसार रसुवागढी जलविद्युत् केन्द्रका ९२ जना र माथिल्लो त्रिशूली ३ ‘ए’ को मर्मतमा खटिएका ४५ जना कामदार सम्पर्कविहीन छन्।

यस्तै, निर्माणाधीन त्रिशूली ३ ‘बी’ साइटका ३२ जना, त्रिशूली २२० केभी हब सबस्टेशनका १६ जना, चिलिमे जलविद्युत् केन्द्रका ७ जना तथा त्रिशूली, देवीघाट र रसुवा वितरण केन्द्रका ४ जना गरी कुल १९६ जनाको अवस्था अज्ञात रहेको छ।

प्रसारण पूर्वाधारतर्फ त्रिशूलीस्थित २२० केभी ३ ‘बी’ हब सबस्टेशन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने धादिङको झरेस्थित ३३ केभी सबस्टेशन ५ फिट लेदोले पुरिएको छ।

यस्तै, चिलिमे-त्रिशूली ६६ केभी, चिलिमे हब-त्रिशूली ३ ‘बी’-मातातीर्थ २२० केभी, त्रिशूली-बालाजु ६६ केभी र समुद्रटार-त्रिशूली १३२ केभी प्रसारण लाइनहरू अवरुद्ध भएका छन्। यसबाट रसुवा जिल्लामा विद्युत् सेवा पूर्ण रूपमा ठप्प भएको छ भने नुवाकोट, धादिङ र गोरखामा आंशिक अवरोध पुगेको छ।

क्षतिग्रस्त संरचनाको मर्मत र वैकल्पिक व्यवस्थाका लागि प्राधिकरणका कार्यकारी निर्देशकसहितको टोली प्रभावित क्षेत्रमा खटिएको छ।

प्रभावित क्षेत्रमा १५ भन्दा बढी सवारीसाधन र प्राविधिक टोली परिचालन गरी धादिङबेँसी सबस्टेशनबाट गजुरी-गल्छी तथा सिन्धुपाल्चोक हुँदै समुद्रटार र चौघडा सबस्टेशनबाट आंशिक विद्युत् आपूर्ति सुरु गरिएको छ।

मन्त्री श्रेष्ठले बेपत्ता कर्मचारीको खोजी, मानवीय सुरक्षा र विद्युत् सेवाको शीघ्र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु