चितवन — भोटेकोसी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएपछि चितवन उद्योग संघले विपद्बका कारण प्रभावित भएकाहरुको उद्धार तथा राहतमा सक्रिय सहभागिता जनाउन निजी क्षेत्रलाई अपिल गरेको छ।
चितवन उद्योग संघका तर्फबाट अध्यक्ष मदन घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनले बाढी तथा विपद् कारण विस्थापित र प्रभावित नागरिकको शीघ्र उद्धार, स्वास्थ्य उपचार तथा सुरक्षित पुनःस्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्।
विपद्का कारण प्रभावित नागरिकलाई तत्काल खाद्यान्न, स्वच्छ खानेपानी, औषधि तथा स्वास्थ्य उपचार, लत्ताकपडा, अस्थायी आवासलगायत अत्यावश्यक सामग्रीको आवश्यकता रहेको संघले जनाएको छ। त्यसका लागि सरकार, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र, उद्योगी–व्यवसायी, सामाजिक संघसंस्था, नागरिक समाज तथा अन्य सरोकारवालाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।
संघले विशेषगरी निजी क्षेत्रका उद्योगी, व्यवसायी तथा उद्यमीहरूलाई आफ्नो क्षमता, स्रोत, साधन र पहुँचअनुसार उद्धार तथा राहत अभियानमा सहभागी हुन आग्रह गरेको छ। प्रभावित क्षेत्रमा आवश्यक सामग्री उपलब्ध गराउँदा सम्बन्धित सरकारी निकाय तथा स्थानीय तहसँग समन्वय गरी तत्काल सहयोग पुर्याउन पनि संघले अनुरोध गरेको छ।
अध्यक्ष घिमिरेले विपद्को सामना सरकार एक्लैले गर्न सम्भव नहुने भन्दै निजी क्षेत्र, सामाजिक संघसंस्था, नागरिक समाज र आम नागरिकको सामूहिक प्रयासबाट मात्रै प्रभावित नागरिकलाई आवश्यक राहत, सुरक्षा, आश्रय तथा पुनःस्थापनाको अनुभूति दिलाउन सकिने बताएका छन्।
‘सक्नेले सहयोग गरौँ, पीडितलाई साथ दिऔँ’ भन्ने भावनाका साथ मानवीय दायित्वलाई प्राथमिकतामा राख्दै विपद् प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत तथा पुनःस्थापनामा सक्रिय योगदान गर्न चितवन उद्योग संघले सम्पूर्ण निजी क्षेत्र तथा सरोकारवालालाई आग्रह गरेको हो।


