रसुवा बाढीपछि नारायणी किनारमा २५ शव फेला, १२ शवका टुक्रा

एटुजेड समाचार

रसुवामा आएको भीषण बाढीपछि नारायणी नदीमा बाढीले बगाएर ल्याएका शवहरू फेला पर्न थालेका छन्।
चितवनको देवघाट तथा नारायणी नदी किनारका विभिन्न क्षेत्रमा बुधबारसम्म २५ वटा सिंगो शव र १२ वटा टुक्राटुक्रा अवस्थामा रहेका शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेलका अनुसार फेला परेका शवको हालसम्म पहिचान हुन सकेको छैन।प्रहरीले शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिरहेको जनाएको छ।रसुवा लगायतका क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि नारायणी नदीको बहावसँगै शवहरू चितवनको देवघाट तथा आसपासका क्षेत्रमा आइपुगेका हुन्।नदीको बहाव अझै तीव्र रहेकाले थप शव फेला पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा निकायले नदी किनारमा खोजी तथा निगरानी बढाएको छ।

यसैबीच, पूर्वी नवलपरासीमा पनि १२ वटा सिंगो शव र दुई वटा टुक्राटुक्रा अवस्थामा रहेका शव फेला परेको जनाइएको छ।
सशस्त्र प्रहरी बल नं. ३१ गुल्म हेडक्वार्टर, पूर्वी नवलपरासीका सूचना अधिकारी तेजबहादुर ठकुरीका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा ती शवहरू फेला परेका हुन्।फेला परेका शवको पहिचान तथा घटनासम्बन्धी थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

रसुवाबाट सुरु भएको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन र पूर्वी नवलपरासीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।
बाढीमा परी अझै धेरै मानिस बेपत्ता रहेको बताइएकाले नदी किनारमा फेला परेका शवको पहिचानसँगै उनीहरू कुन क्षेत्रका हुन् भन्ने खुल्ने प्रहरीले जनाएको छ।बाढीपछि नारायणीमा बढेको खोजी अभियानसँगै फेला परिरहेका शवले विपद्को भयावह अवस्था थप स्पष्ट पारेको छ।
बेपत्ताको खोजी तथा फेला परेका शवको पहिचानका लागि सुरक्षा निकायले आफ्नो प्रयास जारी राखेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु