‘मास्टर्नी’को गीत बन्द गर्न शिक्षक महासंघको माग

एटुजेड समाचार

अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको फिचर फिल्म ‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीत ‘म्याथ सिक्ने भए…’ विवादमा तानिएको छ । गायक दुर्गेश थापाले तयार पारेको उक्त गीतमा द्धिअर्थी शब्द प्रयोग भएको भन्दै सामाजिक सञ्जालमा व्यापाक आलोचना भइरहेको छ । गीतले शिक्षणजस्तो मर्यादित र सम्मानित पेशालाई समेत अपमान गरेको आरोप लागेको छ ।

यसैबीच, देशभरका शिक्षकहरूको छाता संस्था नेपाल शिक्षक महासंघले गीत बन्द गर्न माग गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै महासंघले गीतमा महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको र त्यसले शिक्षण पेशाको गरिमामाथि गम्भीर प्रहार गरेको भन्दै गीत तत्काल बन्द गर्न र फिल्ममा समावेश नगर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको छ । उक्त गीतलाई तुरुन्तै बन्द गर्न तथा फिल्ममा प्रयोग नगर्न सम्बन्धित पक्षसँग आग्रह गर्छौँ ।’ गीत बन्द नभए त्यसबाट उत्पन्न हुनसक्ने असहज परिणामको जिम्मेवारी निर्माता नै हुने चेतावनी समेत महासंघले दिएको छ ।

फिल्मको गीतविरुद्ध चलचित्र विकास बोर्डमा उजुरी दिने तयारीमा समेत शिक्षकहरू रहेको बुझिएको छ । शिक्षा अभियन्ता रमेशबाबु भट्टराईले शुक्रबार बोर्ड र सूचना तथा सञ्‍चार मन्त्रालय मातहतको सेन्सर बोर्डमा गीतविरुद्ध उजुरी दिँदैछन् । गीत प्रतिबन्ध नभए फिल्मविरुद्ध कानुनी लडाइँमा जाने तयारीमा शिक्षक महासंघ रहेको जनाइएको छ ।

फिल्मको उक्त गीत गत असार ३० गते युट्युबमा सार्वजनिक भएको हो । गीत रिलिज कार्यक्रममै द्धिअर्थी शब्दबारे पत्रकारले प्रश्न गर्दा दुर्गेशले राम्रो सोचले सुने राम्रै लाग्ने प्रतिक्रिया दिएका थिए । प्रियंकाले भने गीतलाई मनोरञ्जनको रूपमा मात्र लिन आग्रह गरेकी थिइन् । तर, गीतमा प्रयोग द्धिअर्थी शब्दका कारण यतिबेला फिल्म बहिष्कार गर्ने अभियान नै चलेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु