‘लाली बजार’ प्रदर्शन रोक्न वादी महिलाको माग

एटुजेड समाचार

दाङ — वादी समुदायका महिलाले आफूहरूको मान–सम्मान र पहिचानमा आँच पुग्ने सामग्री समावेश गरिएको भन्दै ‘लाली बजार’ चलचित्र प्रदर्शन रोक्न माग गरेका छन् ।

वादी समुदायका महिलाले सोमबार घोराहीमा पत्रकार भेटघाट गर्दै चलचित्रले वादी समुदायलाई अपमानित गर्ने, गलत ढंगले चित्रण गर्ने तथा सामाजिक प्रतिष्ठामा असर पार्ने दृश्य र संवाद समावेश गरेको गुनासो गरे ।

उनीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली समाजमा लामो समयदेखि वादी समुदायले भोग्दै आएको विभेद, अन्याय र शोषणलाई सम्बोधन गर्नुको सट्टा चलचित्रले पुनः नकारात्मक छवि प्रस्तुत गरेको आरोप लगाइएको छ ।

चलचित्रका नाममा समुदायको पहिचान, इज्जत र संस्कृतिमा आघात पुर्‍याउने प्रयास भएको भन्दै विज्ञप्तिमा गम्भीर आपत्ति जनाइएको छ । यसअघि पनि वादी समुदायविरुद्ध अपमानजनक शब्द प्रयोग गरी साहित्य सिर्जना गर्ने तथा चरित्रहत्या हुने सामग्री प्रदर्शन गर्ने गरिएको उल्लेख गर्दै विज्ञप्तिमा त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भई त्यस्ता गतिविधि नगर्न आदेशसमेत जारी भएको स्मरण गराइएको छ ।

आदेशको बेवास्ता गर्दै ‘लाली बजार’ चलचित्र निर्माण गरिएको आरोप वादी समुदायका महिलाले लगाएका छन् । कल्ती वादी, सितारा वादी, आशा वादी, चाँदनी वादी, गीता वादी, शान्ता वादी, सरस्वती वादी, मुक्ति वादी, खुशी वादी र रोशनी वादी लगायतका वादी समुदायका अगुवा महिलाले प्रेस विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

Forbes

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु