चितवन – चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।
चितवन अटो–शो २०२६ चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनको संयुक्त आयोजनामा चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा वैशाख १७ गतेदेखि सुरु भएको मेला पाँच दिनपछि आज समापन गरिएको हो।
समापन कार्यक्रम मेला संयोजक राजन पियाको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा धुर्ब बहादुर थापा उपस्थित थिए।
आयोजकका अनुसार अटो–शो अवधिभर एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। मेलामा कुल ३२१ सवारी साधन बुकिङ एवं बिक्री भएका छन्, जसमा ११४ मोटरसाइकल, १४८ कार र ५९ भ्यान रहेका छन्।पाँच दिनसम्म सञ्चालन भएको उक्त मेलामा १२ हजारभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रहेको थियो।
करिब ३० कम्पनीका ७० भन्दा बढी स्टलमार्फत कार, जिप, मोटरसाइकल, स्कुटरलगायत विभिन्न सवारी साधन प्रदर्शनमा राखिएका थिए। माइक्रोबस र भ्यानका लागि छुट्टै स्टलको व्यवस्था गरिएको थियो भने प्रदर्शनी हल बाहिर थप टेन्टमार्फत पनि स्टल विस्तार गरिएको थियो।
अटो–शो अवधिभर ग्राहकहरूलाई अन द स्पट फाइनान्स तथा बीमा सेवा उपलब्ध गराइएको थियो। साथै, विभिन्न कम्पनीहरूले सवारी खरिदकर्ताका लागि विशेष छुट तथा आकर्षक योजनाहरू राखेका थिए।
मेलामा सवारी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत तीन जनालाई विशेष उपहार समेत प्रदान गरिएको आयोजकले जनाएको छ।


