तेस्रो संस्करणको इलाम गोल्डकपको उपाधि होडमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र मछिन्द्र फुटबल क्लब पुगेका छन् । पूर्वलिग विजेता तथा ए–डिभिजन क्लब मच्छिन्द्र तथा साविक विजेता एनआरटीबीच वैशाख १२ मा फाइनल भिडन्त हुने भएको हो ।
इलामको ठूलो टुँडिखेलमा बिहीबार सम्पन्न दोस्रो सेमीफाइनलमा टाइब्रेकरमा ४–३ गोलान्तरले झापा धुलाबारीको रोलिङ क्लबलाई पाखा लगाएसँगै एनआरटीले फाइनल यात्रा तय गरेको हो ।
राष्ट्रिय टिमका र उमेरसमूहका खेलाडी सम्मिलित दुवै टिमले उत्कृष्ट प्रदर्शन गर्दै इलामे दर्शकलाई मनोरञ्जन दिलाए । खेलको पहिलो हाफको अतिरिक्त समयमा न्युरोडका विज्ञान खड्काले गोल गरे ।
दोस्रो हाफमा रोलिङ क्लबका फागुनराम थारूले एनआरटीविरुद्ध गोल गर्दै १–१ गोलको बराबरी गरे । निर्धारित समयसम्म दुवै टिमबाट अरू गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा न्युरोडका आशिष गुरुङ, सोनाम लिम्बू, शिशिर लेखी र आदित्य शाक्यले गोल गरे । विज्ञान खड्काको प्रहार बाहिरियो ।
रोलिङ क्लबका निङ्मा गुरुङ, पूजन थापा र प्रतापसिंह राईले गोल गरे । फागुराम चौधरीको प्रहार बाहिरियो । रामबहादुर शाहको प्रहार न्युरोडका गोलरक्षक विशाल सुनारले बचाए । खेलको ‘म्यान अफ दि म्याच’ न्युरोडका गोलरक्षक विशाल सुनार भए । उनले नगद ८ हजार १ सय रुपैयाँ पुरस्कार पाए ।
एनआरटीले क्वार्टरफाइनलमा चित्लाङ फुटबल क्लबलाई १–० गोलान्तरले हराएको थियो । मछिन्द्र सेमी फाइनलमा मोरङको पथरी–११ फुटबल क्लबविरुद्ध ५–२ गोलको सानदार जित हासिल गर्दै फाइनलमा उक्लिएको हो । उसले क्वार्टर फाइनलमा पाहुना टोली मलेसियाको एन–पेनाङ एफसीलाई टाइब्रेकरबाट ३–२ गोलान्तरले हराएको थियो ।
रेडहर्स फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।


