चितवन – राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत चितवनमा नयाँ जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी औपचारिक शुभारम्भ गरिएको छ । “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मुल नारासहित स्थापना गरिएको यस कार्यालय भरतपुर–१०, दुरसचार मार्गमा शुभारम्भ गरिएको छ ।
हिजो चैत्र १ गते प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा बसेको चितवन जिल्ला आर्थिक गणना समन्वय समितिको बैठकमा कार्यालय स्थापना गर्ने निर्णय भएपश्चात प्रमुख कोष नियन्त्रक भिमार्जुन ज्ञवालीको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले यो दोस्रो पटक आर्थिक गणना गर्ने भएको छ। पहिलो आर्थिक गणना २०७५ सालमा सम्पन्न भएको थियो। देशभरका आर्थिक गतिविधि सञ्चालन गर्ने प्रतिष्ठानहरूको तथ्याङ्क संकलन गर्ने उद्देश्यले ७७ जिल्लामा ८४ वटा आर्थिक गणना कार्यालय स्थापना गर्ने योजना रहेको छ र चितवन पनि यस योजनामा समावेश गरिएको छ।
चितवन जिल्ला आर्थिक गणना अधिकारी रेणु कुमारी घिमिरेका अनुसार, चैत्र १ गतेदेखि असार मसान्तसम्म कार्यालयले जिल्लाका ७ वटै स्थानीय तहमा रहेका आर्थिक प्रतिष्ठानहरूको तथ्याङ्क संकलनका लागि ११७ जना गणक र १७ जना सुपरिवेक्षक परिचालन गर्नेछन्।
वैशाख २ गतेदेखि असार ७ गतेसम्म तालिम प्राप्त गणकहरूले व्यावसायिक प्रतिष्ठानमा गई सूचीकरण तथा मुख्य प्रश्नावली भर्नेछन् भने सुपरिवेक्षकहरूले गणकहरूको कार्यमा सहजीकरण गर्नेछन्।
यस राष्ट्रिय आर्थिक गणना २०८२ को उद्देश्य आधुनिक प्रविधि प्रयोग गरी सम्पूर्ण उद्योग र व्यवसायको विवरण संकलन गर्नु हो। यो गणनाबाट देशभरका आर्थिक एकाइहरूको वास्तविक अवस्था पहिचान, उद्योग तथा व्यवसायमैत्री नीति निर्माण, आर्थिक सम्भाव्यता अध्ययन, रोजगारीको अवस्था विश्लेषण र देशको कुल गार्हस्थ उत्पादनमा विभिन्न आर्थिक क्षेत्रको योगदान पत्ता लगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


