गोरखा – प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत गोरखा–१ को मतपेटिका शनिबार मात्र सङ्कलन हुने भएको छ । सबै मतपेटिका सङ्कलन नहँुदा मतगणना सुरु हुन नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
विशेष गरी उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका कामतदान केन्द्रबाट मतपेटिका आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताउनुभयो ।
जिल्लाको चुमनुव्री गाउँपालिकामा कुल २३ वटा मतदान केन्द्र छन् । ती केन्द्रका मतपेटिका शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी थालिएको थियो । तर, खराव मौसमका कारण सबै केन्द्रको मतपेटिका ढुवानी हुन नसकेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।
“हालसम्म दुई टिप गरेर नौ वटा केन्द्रको मतपेटिका आयो, १४ वटाको अझै बाँकी छ”, उहाँले भन्नुभयो । नाम्रुङ, प्रोक र सिर्दिवासका मतदान केन्द्रबाट मतपेटिका सङ्कलन हुन बाँकी रहेको उहाँको भनाइ छ । तल्लो भेगका मतपेटिका भने गएराति नै ढुवानी भइसकेको छ ।
गोरखा क्षेत्र नं २ मा भने मतगणना सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो । गोरखा–१ को मतगणना जिल्ला सदरमुकामस्थित जिल्ला समन्वय समितिको भवन र गोरखा–२ को भू तथा जलाधार व्यवस्थापन कार्यालयमा गणना हुने गौतमको भनाइ छ । रासस


