पाटेबाघलाई पासो थाप्न गएका वृद्धको बाघकै आक्रमणबाट मृत्यु

चितवन – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने तीनचुली मध्यवर्ती सामुदायिक वनभित्र पाटेबाघलाई पासो थाप्न गएका वृद्धको बाघकै आक्रमणबाट मृत्यु भएको छ । उनीसँगै गएका एक युवकले रुख चढेर ज्यान जोगाए तर अहिले ती युवा निकुञ्जको नियन्त्रणमा छन् । उनीमाथि संरक्षित वन्यजन्तु बाघ मार्ने उद्योगमा निकुञ्जले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ बस्ने २० वर्षीय अमृत न्यौपानेलाई निकुञ्ज प्रशासनले नियन्त्रणमा लिई अनुसन्धानपछि आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । यस घटनाबारे चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी घटनाबारे जानकारी दिइएको थियो ।

निकुञ्जले दिएको जानकारीअनुसार, घटना दुई महिनाभन्दा पुरानो हो । विनयी त्रिवेणी–१ का अमृत न्यौपाने र सोही ठाउँका ६७ वर्षीय जितबहादुर थिङ टेलिफोनको तार, जिआइ तार र जिआइ तारलाई बटारेर बनाइएको मसिनो लठ्ठासहित जंगल पसे । सामुदायिक वनको लक्ष्मीडाँडा भन्ने ठाउँमा पासो थापे ।

तीन दिनपछि उनीहरु पासो थापेको ठाउँमा पुग्दा त्यहाँ अचानक पाटेबाघ आइपुग्यो । बाघ देखेपछि न्यौपाने नजिकैको रुखमा चढे । खल्तीबाट मोबाइल निकालेर बाघको फोटो खिच्न थाले । थिङ भने बाघको आक्रमणमा परे । उनको त्यहीँ नै ज्यान गयो ।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले बाघको आक्रमणमा मृत्यु भएका व्यक्ति पहिले पनि वन्यजन्तु अपराधमा संलग्न व्यक्ति भएको अनुसन्धानबाट खुलेको बताए । उनले भने, ‘दुई जना मिलेर घटना हुनुभन्दा तीन दिनअघि पासो थापेका रहेछन् । घटना भएको दिन बाघले आत्मरक्षाको लागि थिङलाई मारेको देखिन्छ । किनकि थिङलाई मारेर बाघले उनको मासु खाएको छैन । त्यसैले यस बाघलाई नरभक्षी भन्न पनि मिल्दैन ।’

Forbes

यसरी समातिए न्यौपाने

निकुञ्जका कर्मचारी र नयाँ गोरखगणको बगुवन सुरक्षा पोस्टबाट खटिएको सेनाको संयुक्त गस्ती टोली गत कात्तिक २ गते बिहान ११ः३० बजेतिर घटनास्थल पुगेको थियो । त्यहाँ टेलिफोनको तार, जिआइ तार र जिआइ तारलाई बटारेर बनाइएको मसिनो लठ्ठामा उनीहरुले रौँको गुजुल्टो फेला पारे । ती सामान निकुञ्जको मुख्य कार्यालयमा ल्याएपछि रौँलाई डिएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाइयो ।

विशेष सुराकीका आधारमा नयाँ गोरखगण तमासपुर पोस्टका नेपाली सेना र निकुञ्जको तमासपुर रेञ्जपोस्टका कर्मचारीहरुको संयुक्त टोलीले कात्तिक २९ गते अमृत न्यौपानेलाई पक्राउ गरेको निकुञ्जकी संरक्षण अधिकृत सुजिता श्रेष्ठले जानकारी दिइन् । न्यौपानेको साथबाट मोबाइल पनि बरामद भएको छ ।

‘परीक्षणबाट ती रौँहरु पाटेबाघको भएको पुष्टि भएको छ’ निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले भने, ‘बरामद मोबाइललाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोमा पठाएर डिजिटल परीक्षण गराउँदा पासोमा परेको बाघको फोटो मोबाइलबाट प्राप्त भएको छ ।’ गत कात्तिक २ गते पासोमा बाघ परेको देखेपछि आफू रुखमा चढेर बाघको फोटो खिचेको भनी न्यौपानेले स्वीकार गरेको सूचना अधिकारी मगरले बताए ।

निकुञ्जले न्यौपानेविरुद्ध संरक्षित वन्यजन्तु बाघ मार्ने उद्योग मुद्दा लगाएको छ । न्यौपानेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ (पाँचौँ संशोधन) को दफा २६ को उफदफा (१) बमोजिम सजाय गर्न निकुञ्जले माग गरेको छ । उक्त उपदफाअनुसार पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँचदेखि १५ वर्षसम्म कैद वा दुबै सजाय हुन सक्छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु