चितवन – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनले सोमबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरी अपाङ्गता भएका व्यक्तिहरुलाई योगदेखि उद्घोषणसम्मको ज्ञान दिएको छ । ३३औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
इक्यान चितवनका अध्यक्ष दीपकचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि भरतपुर–११ का वडाध्यक्ष कमल मल्ल थिए । वडाध्यक्ष मल्लले अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहयोग गर्न अफू सदैव तयार रहेको बताए ।
कल्याणकारी समाज सेवा केन्द्रको सहआयोजना र भरतपुर–११ वडा कार्यालयको विशेष समन्वयमा इक्यान चितवनले आयोजना गरेको कार्यक्रममा शिक्षाविद् रमाकान्त सापकोटाले अपाङ्गता भएका व्यक्तिहरुको सिकाईबारे प्रस्तुति दिएका थिए ।
कार्यक्रममा आर्ट अफ लिभिङकी निरु शर्माले योग र ध्यान एवं सञ्चारकर्मी मनोज पन्तले उद्घोषण कलाबारे ज्ञान दिएका थिए । कार्यक्रम संयोजक डा. टंक ओझालेतनाव व्यवस्थापन र मानसिक स्वास्थ्यबारे सहभागीहरुलाई बताएका थिए ।
इक्यान चितवनले सामाजिक उत्तरदायित्व अन्तर्गत बेलाबेलामा रक्तदान, चेपाङ विद्यार्थीहरुलाई स्टेशनरी वितरण, देवघाटधामका वृद्धवृद्धालाई खाना खुवाउने तथा लुगा वितरणलगायत कार्यक्रम गर्दै आएको छ ।


