सुर्खेत – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले वृद्धि गरी आगामी वर्षको बजेट ल्याइएको आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बताए ।
सोमबारको कर्णाली प्रदेशसभा बैठकमा शाहले पेस गरेको बजेटमा आगामी वर्षका लागि चालुतर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार (२४.३१ प्रतिशत), पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ हजार १२ हजार (५८.३१ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५४ करोड ७२ लाख ८० हजार (१५.६७ प्रतिशत) रुपैयाँ विनियोजन गरिएको छ ।
अर्थमन्त्री शाहका अनुसार सरकारले आगामी वर्षका लागि आन्तरिक आयतर्फ ८५ करोड ५ लाख ९० हजार र चालु आर्थिक वर्षमा खर्च नभइ बचत हुने अनुमानित रकम ६ अर्ब ४१ करोड ५१ लाख ९ हजार रुपैयाँ बजेट परिचालन गर्नेछ ।
उनका अनुसार संघीय सरकारबाट राजस्व बाँडफाँडतर्फ १० अर्ब ६६ करोड ८५ लाख ४९ हजार, वित्तीय समानीकरणतर्फ १० अर्ब ६३ करोड २३ लाख र सशर्त अनुदानबाट ५ अर्ब ६७ करोड २५ लाख रुपैयाँ अन्दुान प्राप्त भएको छ ।
त्यस्तै संघीय सरकारबाट प्राप्त हुने समपूरक अनुदानतर्फको ६६ करोड ७८ लाख र विशेष अनुदानतर्फको ४८ करोड ५६ लाख र वैदेशिक सहायता ९६ लाख रुपैयाँ स्रोत परिचालन हुने उनले जानकारी दिए ।


