नारायणगढको न्युरोडलाई व्यवस्थित बनाउदै ट्राफिक प्रहरी

एटुजेड समाचार

चितवन – जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले नारायणगढको न्युरोडमा फुटपाथ अतिक्रमण गरेर राखिएको व्यपारिक सामाग्रीहरु हटाएको छ । आज (बिहीबार) ट्राफिक प्रहरीले फुटपाथ अतिक्रमण गरेर राखिएको मोटर ग्यारेज तथा वर्कसपजन्य सामाग्रीहरु हटाएको हो ।

अव्यवस्थित रुपमा रहेका मोटर ग्यारेज, वर्कसपले व्यापारिक सामग्री राखि फुटपाथ सडक अतिक्रमण गर्दा ट्राफिक आवागमनमा अवरोध सिर्जना भएकाले त्यस्ता सामाग्रीहरु हटाइएको चितवनका ट्राफिक प्रमुख, प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिए । पुलचोकदेखि न्युरोडको खनालचोकसम्मका सबै वर्कसपका सामाग्री हटाएर सो क्षेत्रलाई व्यवस्थित बनाइएको भट्टले बताए ।

फेरी त्यस्ता व्यापारिक सामाग्री राखेर फुटपाथ तथा सडक अतिक्रमण गरेको पाइए कारबाही गरिने उनको चेतावनी छ । “अस्तव्यस्त न्युरोडलाई व्यवस्थित बनाउनका लागि हामीले फुटपाथ सडक अतिक्रमण गरेर मोटर ग्यारेज तथा वर्कसपले राखेका सामाग्रीहरु हटाएका छौं उनले भने, अटेर गरी फेरी राखेको पाइयो भने कारबाही गर्छौं ।”

यस्तै न्युरोडको ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्युनिकरणका लागि रिफ्लेक्टिङ स्टिकर सहितको ड्रम राखि दुइतर्फी सवारी आवागमनको व्यवस्था मिलाइएको छ । चितवन अटो मेकानिकल एसोसियसनसँगको सहकार्यमा न्युरोड क्षेत्रमा १२ वटा ड्रममा डोरी लगाएर दुईतर्फी सवारी आवागमनलाई सहज बनाइएको ट्राफिक प्रमुख भट्टले बताए । यस्तै सोही क्षेत्रमा ३ वटा ‘नो पार्किङ’ बोर्ड समेत राखिएको छ ।

चालकको स्वास्थ्य परीक्षण

चितवनमा बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि चालकको स्वास्थ्य परीक्षण गरिएको छ । मौलाकालिका अस्पतालको प्राविधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आज चालकको स्वास्थ्य परीक्षण गरेको हो ।

आज बिहान चौबिसकोठीमा लामो तथा छोटो दुरीका यात्रुबाहक बस, ट्रक, बोलेरो तथा म्याजिकका ७५ जना चालकको स्वास्थ्य परीक्षण गरिएको ट्राफिक प्रमुख दयाकृष्ण भट्टले बताए । स्वास्थ्य परीक्षण गरिएका चालकहरु मध्य केहीमा उच्च रक्तचाप तथा केहीको आँखामा समस्या देखिएको छ । त्यस्ता चालकहरुलाई रेड जोनमा राखि तत्काल उपचार गरेर मात्र सवारी चलाउन निर्देशन दिइएको उनले बताए ।

अश्वस्थ चालकले सवारी चलाउदा दुर्घटनाको जोखिम रहने भएकोले स्वास्थ्य परीक्षण गरिएको ट्राफिक प्रमुख भट्टको भनाइ छ। “चालक शारिरिक तथा मानसिक रुपमा स्वस्थ नहुँदा दुर्घटनाको जोखिम हुन्छ उनले भने, सवारी चलाउदा आवश्यक स्वास्थ्य मापदण्ड पनि पुरा गर्नुपर्छ । त्यसैले पूर्ण रुपमा स्वस्थ भएर मात्रै सवारी चलाउनु पर्छ भन्ने सन्देश दिनका लागि पनि स्वास्थ्य परिक्षण गरिएको हो ।”

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गरिएको स्वास्थ्य परीक्षणलाई मासिक अभियानकै रुपमा अघी बढाउने योजना रहेको उनले बताए । यस अघी पनि मुग्लिनमा दुई पटक सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु