देवघाटमा माघे संक्रान्ति मेलाको तयारी पुरा

एटुजेड समाचार

चितवन – देवघाट क्षेत्र बिकास समितिले माघे संक्रान्ति मेलाको तयारी पुरा भएको जनाएको छ । देवघाटधाममा माघ १ गते हुने संक्रान्ति मेलाको तयारी पुरा भएको क्षेत्र बिकास समितिले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

देवघाटको चितवन र तनहुँ दुवै तर्फ दर्शनार्थीहरुलाई हिड्न र स्नान गर्न सहज होस् भनेर बाटो सम्याउने, ढुङ्गा राख्ने , उज्यालोका लागि बत्ति राख्ने काम भएको देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष एवं माघे संक्रान्ति मेला व्यवस्थापन समितिका संयोजक शिवराज पौडेलले जानकारी दिनुभयो ।

अध्यक्ष पौडेलले देवघाटमा आउने दर्शनार्थीको भिडलाई ख्यालमा राखेर विभिन्न उपसमिति मार्फत काम भैरहेको बताउनु भयो । उहाँले दुई सय एकाउन्न सदस्यीय मुल समितिले पौष ३ गते देखि स्नानघाट मर्मत, पानी शौचालय व्यवस्थापन, उज्यालो व्यववस्थापन लगाएतका विविधि कामहरु गरेको जानकारी दिनुभयो ।

विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि माघे संक्रान्तिमा हुने देवघाट मेलाको पूर्व सन्ध्यामा देवघाटधामको वेणी संगममा सरसफाई गरीएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । सरसफाईमा स्थानिय वासिन्दा, भरतपुरको नेपाली सेनाको कालिबहादुर गण र नेपाल प्रहरीको सहभागिता रहेको अध्यक्ष पौडेलले बताउनु भयो ।

क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले देवघाटधाममा हुने माघे संक्रान्ति मेलाको तयारी अहिले सकिएको भन्दै सुरक्षाकै कारण देवघाटमा मदिरापान निषेद गरिएको बताउनु भयो ।

कार्यकारी निर्देशक घिमिरेले भन्नुभयो, “ मेला र मदिरा संगै जान सक्दैन । मेलामा आउने भक्क्तजनलाई सहज रुपमा स्नान र दर्शनका लागि चितव र तनहँु तर्फ व्यवस्था मिलाएका छौं ।”

देवघाट वारी र पारी गर्ने एक मात्र झोलुङ्गे पुलको मर्मत सम्भार सकिएको निर्देशक घिमिरेले बताउनु भयो । उहाँले चितवनबाट देवघाट जाँदा त्रिशुली नदीमा झोलुङ्गे पुल मात्रै भएका कारण त्रिशुली नदीमा प्रशस्तै डुंगाहरु राखेर नुहाउन जाने ठाउँसम्म पुग्ने व्यवस्था मिलाईएको उहाँले बताउनु भयो । करिब पाँच लाख दर्शनार्थी आउने अनुमान गरिएको मेलामा यस अगाडी कुरिनटारको गोताखोर टोली मात्रै उद्धारमा खटिने गरेकोमा यस वर्षबाट नेपाली सेनाको गोताखोर टोली समेत थपिएको निर्देशक घिमिरेले बताउनु भयो ।

देवघाटमा पुष अन्तिम दिन देखि मकर स्नान मेला सुरु हुन्छ । गोसाइकुण्डबाट आएको त्रिशुली र मुक्तिनाथबाट आएको कालिगण्डकी दोभान देवघाटमा माघे संक्रान्तिका दिन नुहाउँदा धार्मिक फल प्राप्त हुने विश्वास छ। स्वदेशका मात्रै नभएर भारतका हिन्दुहरु पनि यस दिनमा स्नान गर्न आउने गर्दछन् । माघे संक्रान्तिमा देवताहरु पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने धार्मिक कथन रहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू