भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

एटुजेड समाचार

चितवन – नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा बुद्धिकान्त न्यौपानेले आफ्नो दाबी प्रस्तुत गरेका छन्। शनिबार सम्पन्न नेपाली कांग्रेस भरतपुर महानगरपालिका–वडा–६ को वडा अधिवेशनबाट न्यौपाने सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा चयन भएपछि उनले महानगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

न्यौपाने हाल भरतपुर महानगरपालिकाका उपसभापति हुन्। उनी पाँच वर्ष महानगरको सदस्यका रूपमा काम गरेपछि उपसभापतिको जिम्मेवारीमा पुगेका हुन्। कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्दै उनले निरन्तर पार्टीको संगठनात्मक गतिविधिमा काम गर्दै आएको बताएका छन्।

वडा अधिवेशनबाट न्यौपानेसहित सबै क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका हुन्। क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएपछि उनले महानगरको नेतृत्वका लागि आफू वैधानिक रूपमा तयार भएको बताएका छन्।

महानगर सभापतिको उम्मेदवारी घोषणा गर्दै न्यौपानेले पार्टीभित्र गुट–उपगुटभन्दा माथि उठेर सबैलाई जोड्ने नेतृत्व आवश्यक रहेको बताएका छन्। उनले आफू निर्वाचित भए कांग्रेसलाई एकताबद्ध, बलियो र जीवन्त पार्टीका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

न्यौपानेले बालबालिका, युवा, महिला तथा ज्येष्ठ नागरिकका हक, हित र अधिकारका पक्षमा आवाज उठाउने, प्राकृतिक विपद्को पूर्वतयारी तथा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने र पार्टीभित्र सबै विचार तथा पक्षलाई समेटेर अघि बढ्ने आफ्नो प्राथमिकता रहेको बताएका छन्।

‘म भाषणमा होइन, निष्ठा र काममा विश्वास गर्छु,’ उनले भनेका छन्, ‘पार्टीलाई बलियो बनाउन, विपद्मा जनताको सारथी बन्न र समृद्ध भरतपुरको सपना पूरा गर्न सबैको साथ, विश्वास र सहयोगको अपेक्षा गर्दछु।’

न्यौपानेले आफ्नो परिवार पुस्तौँदेखि नेपाली कांग्रेस र लोकतन्त्रका लागि समर्पित रहँदै आएको उल्लेख गर्दै आफूले पनि त्यही निष्ठा, संस्कार र राजनीतिक विरासतलाई निरन्तरता दिने बताएका छन्।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत भरतपुर महानगरपालिकाको नगर अधिवेशन असोज ७ गते हुँदैछ। नगर अधिवेशन नजिकिएसँगै महानगर सभापतिका आकांक्षीहरूले आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु