काठमाडौं। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ५ हजार ७८६ जना सम्पर्कविहिन रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म ५ हजार ७८६ जना सम्पर्कविहीन रहेका हुन्।
सम्पर्कविहीन हुनेमा रसुवाका स्थानीय १६७७ जना रहेका छन् भने रसुवाबाट सम्पर्कविहिन भएका अन्य जिल्लाका नागरिकको संख्या १८३६ रहेको छ। त्यस्तै नुवाकोटबाट सम्पर्क विहिन हुने स्थानीयको संख्या ६५७ रहेको छ भने अन्य जिल्लाका १०९० जना रहेको प्राधिकरणले जानकारी दिएको छ। त्यसैगरी सम्पर्कविहिन हुने विदेशी नागरिकको संख्या ६३६ रहेको छ।
त्यस्तै अहिलेसम्म १४५१ जनाको शव फेला परेको छ। जसमा रसुवामा २०३, नुवाकोटमा २३६, धादिङमा ७२, चितवनमा ३६७, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २३२ जनाको शव फेला परेको छ। त्यस्तै बाढीबाट घाइते भएका २ जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको छ।
अहिलेसम्म ११० शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ। फेला परेका शवमा ३३६ जना महिला, ५८५ जना पुरुष र ५३० जनाको आंशिक अवशेष मात्र भेटिएको प्राधिकरणले जानकारी दिएको छ।


