कावासोतीमा ट्रकको ठक्करबाट १६ महिनाकी बालिकाको मृत्यु

एटुजेड समाचार

कावासोती : पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती–८ फलफूल चोकमा ट्रकको ठक्करबाट १६ महिनाकी बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का अनुसार उत्तरबाट दक्षिणतर्फ राजमार्ग पार गर्दै गरेको लु ७० प ८२८४ नम्बरको मोटरसाइकललाई भैरहवाबाट काठमाडौं जाँदै गरेको प्रदेश ०१–०२–००१ ख ८०७७ नम्बरको ट्रकले ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कावासोती–११ कुडौली बस्ने अर्घाखाँचीकी करिब २४/२५ वर्षीया पुष्पा चौहान र उनकी १६/१७ महिनाकी छोरी घाइते भएका थिए।

बालिकालाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको नामथर खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घाइते पुष्पाको बाहिरी चोट नदेखिए पनि बेहोस अवस्थामा नवलपुर अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि उनलाई नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु