चितवन – बालकुमारी कलेज, नारायणगढको आयोजनामा MBA in Financial Management (MBA-FM) को १२औँ ब्याचका विद्यार्थीहरूका लागि अभिमुखीकरण तथा मेन्टरसिप कार्यक्रम भरतपुर गार्डेन रिसोर्टमा सम्पन्न भएको छ।

कलेज सञ्चालक समितिका अध्यक्ष सुभाष प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. डा. महानन्द चालिसे प्रमुख अतिथि तथा पूर्व डीन प्रा. डा. दिली राज शर्मा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा कलेजका पूर्व प्राचार्यद्वय प्रा. शिवप्रसाद पौडेल र चुननारायण श्रेष्ठ तथा वर्तमान प्राचार्य कुलचन्द्र पण्डितलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपप्राचार्य डा. सुशील घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उपप्राचार्य तथा MBA-FM कार्यक्रम निर्देशक शिवप्रसाद सापकोटाले गर्नुभएको थियो। उहाँले MBA-FM कार्यक्रमको शैक्षिक संरचना, उद्देश्य र विशेषताबारे समेत जानकारी गराउनुभएको थियो।
कार्यक्रममा वक्ताहरूले व्यवस्थापन शिक्षाको महत्व, वित्तीय क्षेत्रमा उपलब्ध अवसर, व्यावसायिक दक्षता, अनुसन्धान तथा नेतृत्व विकासका विषयमा प्रकाश पार्दै विद्यार्थीहरूलाई सफल शैक्षिक एवं व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।
अभिमुखीकरण तथा मेन्टरसिप कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, अध्ययन प्रणाली र व्यावसायिक सम्भावनाबारे जानकारी गराउँदै आगामी शैक्षिक यात्राका लागि उत्साह, प्रेरणा र मार्गदर्शन प्रदान गरेको छ।


