भरतपुर – भरतपुर महानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनमा मेयर पदका लागि राकेश तिमल्सिनाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
आइतबार नेपाल पत्रकार महासंघ चितवन शाखाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत तिमल्सिनाले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
लोकतन्त्रलाई बलियो बनाउन निर्धारित समयमै निर्वाचन हुनुपर्ने र नयाँ पुस्ताको चाहना तथा मागअनुसार स्थानीय तहदेखि नै युवाको नेतृत्व स्थापित हुनुपर्ने धारणा राख्दै उनले मेयर पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए।
लामो समय विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव रहेका तिमल्सिना विगत दुई वर्षदेखि विश्वप्रसिद्ध खुद्रा व्यापारिक कम्पनी अमेजनको मध्यपूर्व क्षेत्रमा कार्यरत छन्।
बदलिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै अब पूर्ण रूपमा समाज, देश र जनताको सेवामा समर्पित हुने उद्देश्यसहित आफूले उम्मेदवारी घोषणा गरेको उनले बताए।
भरतपुरको समग्र विकास र समृद्धिका लागि विभिन्न योजना तथा अवधारणा आफूसँग रहेको उल्लेख गर्दै तिमल्सिनाले ती योजनाहरू चुनावी अभियानका क्रममा क्रमशः सार्वजनिक गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।


