अन्तरिक्षमा भेटियो विज्ञानको नियमलाई चुनौती दिने ‘अदृश्य पिण्ड’

एटुजेड समाचार

काठमाडौं – खगोलविद्हरूको एक टोलीले ‘लार्ज स्काई एरिया मल्टी-अब्जेक्ट फाइबर स्पेक्ट्रोस्कोपिक टेलिस्कोप’ (लामोस्ट) र ‘अपाचे पोइन्ट अब्जर्भेटरी ग्यालेक्टिक इभोल्युसन एक्सपेरिमेन्ट’ (अपोजी) बाट प्राप्त तथ्याङ्क अध्ययन गरी हालै एउटा रेड जायन्ट स्टारसँगै रहेको अदृश्य बाइनरी साथी पहिचान गरेका छन्।

उक्त साथी पिण्डलाई प्रत्यक्ष रूपमा दूरबिनबाट हेर्न नसकिए तापनि खगोलविद्हरूले रेड जायन्ट स्टारमा परेको त्यसको गुरुत्वाकर्षण प्रभाव भने स्पष्ट देख्न सक्छन्।

यो कुनै बिल्कुलै नौलो विषय भने होइन-गुरुत्वाकर्षण प्रभावका आधारमा अनुसन्धानकर्ताहरूले यस्ता अदृश्य साथी भएका बाइनरी प्रणालीहरू बारम्बार पत्ता लगाउने गर्छन्। यद्यपि, यो अदृश्य पिण्डको अनुमानित तौल र यस प्रणालीका अन्य विशेषताहरूले गर्दा यो केही अनौठो र अपवाद बन्न पुगेको छ।

‘साइन्स एड्भान्सेस’ पत्रिकामा प्रकाशित यस जोडीसम्बन्धी अनुसन्धानले यो अदृश्य साथी पिण्ड अत्यधिक भारी न्युट्रोन तारा हुनसक्ने सम्भावना औँल्याएको छ, जसले न्युट्रोन तारा कतिसम्म भारी हुन सक्छन् भन्ने हालसम्मको सीमालाई नै चुनौती दिइरहेको छ।

न्युट्रोन तारा र ब्ल्याक होलबिचको अस्पष्ट सीमा

न्युट्रोन ताराहरू विशाल पिण्ड भएका ताराहरू विस्फोट भएपछि बाँकी रहने अत्यधिक घनत्वयुक्त अवशेष हुन्। सामान्यतया, न्युट्रोन ताराको पिण्ड हाम्रो सूर्यभन्दा करिब १.४ गुणा बढी हुन्छ, र यो सम्पूर्ण भार करिब २० किलोमिटर व्यास भएको एउटा सहरजत्रो सानो गोलाभित्र अटेर बसेको हुन्छ।

हालसम्म सूर्यको पिण्डभन्दा २.५ गुणा बढी भएका कुनै पनि न्युट्रोन तारा फेला परेका छैनन्। अर्कोतर्फ, अझ ठुला ताराहरूको अवशेषका रूपमा बन्ने ब्ल्याक होलहरू भने सामान्यतया कम्तीमा पाँच सौर्य पिण्डका हुन्छन् र त्योभन्दा माथि विशाल (सुपरम्यासिभ) ब्ल्याक होलहरूको पिण्ड त सूर्यभन्दा अरबौँ गुणासम्म बढी हुन सक्छ।

यसले गर्दा करिब २.५ देखि ५ सौर्य पिण्डको बिचमा एउटा अनौठो ‘पिण्ड-अन्तर’ (मास ग्याप) देखिन्छ। न्युट्रोन तारा र ब्ल्याक होलबिचको पिण्डको निश्चित सीमारेखाबारे खगोलविद्हरू अझै स्पष्ट हुन सकेका छैनन्।

न्युट्रोन ताराको अधिकतम सम्भावित पिण्ड यी पिण्डहरूको भित्री भागमा अत्यधिक चापका बिच पदार्थले देखाउने व्यवहारसँग प्रत्यक्ष सम्बन्धित हुन्छ भन्ने तथ्य उनीहरूलाई थाहा छ, तर यसलाई व्याख्या गर्ने भौतिक अवस्थाका समीकरणहरू (इक्वेसन्स अफ स्टेट) अझै राम्ररी बुझ्न सकिएको छैन। दुर्लभ र असामान्य रूपमा गह्रुँगा यस्ता उदाहरणहरूले न्युट्रोन तारा कुन बिन्दुमा पुगेर ब्ल्याक होलमा परिणत हुन्छन् भन्ने विषय निर्क्योल गर्न मद्दत पुर्याकउँछन्।

सिमुलेसनलाई चुनौती दिने अदृश्य साथी

‘J0008+0128’ नाम दिइएको नयाँ बाइनरी प्रणाली पत्ता लगाउने अनुसन्धानकर्ताहरूले रातो दानवको उक्त साथी पिण्डको भार १.८ देखि २.८ सौर्य पिण्डको बिचमा रहेको अनुमान गरेका छन्, जसको सबैभन्दा सटिक अनुमान २.२ सौर्य पिण्ड हो। यस पिण्डको अधिकतम सीमा न्युट्रोन तारा र ब्ल्याक होलबिचको ‘पिण्ड-अन्तर’ मा पर्दछ। यसले गर्दा उक्त पिण्ड सो अन्तरको अध्ययन गर्नका लागि कम्तीमा पनि एउटा दुर्लभ र बहुमूल्य वस्तु बनेको छ।

टोलीको विश्लेषणले यो जोडीले करिब ३.३ वर्षमा एक परिक्रमा पूरा गर्ने देखाएको छ। यसको अर्थ यी दुई पिण्डहरूबिच तुलनात्मक रूपमा निकै ठुलो दूरी रहेको छ। यति धेरै दूरी हुँदाहुँदै पनि यसको परिक्रमा मार्ग भने अचम्मलाग्दो रूपमा लगभग पूर्ण वृत्ताकार छ।

रेड जायन्ट स्टारबाहेक अन्य कुनै प्रकाश नदेखिएकाले यसको साथी पिण्ड कुनै साधारण तारा हुन सक्दैनथ्यो। यस अवस्थामा न्युट्रोन तारा हुनु नै सबैभन्दा बलियो सम्भावना थियो। यद्यपि, उच्च पिण्ड, लगभग वृत्ताकार कक्ष र लामो दूरीको यस्तो संयोजन न्युट्रोन तारा भएको बाइनरी प्रणालीका लागि निकै असामान्य हो।

अन्य थुप्रै भारी न्युट्रोन ताराहरू नजिकको दूरी भएका बाइनरी प्रणालीमा हुन्छन् र तिनीहरूले आफ्ना साथी ताराबाट पदार्थ तानेर आफ्नो पिण्ड बढाएका हुन सक्छन्। तर टोलीको विश्लेषण अनुसार यो सम्भावित न्युट्रोन तारा रातो दानवबाट पदार्थ तान्नका लागि निकै टाढा छ, र त्यहाँ पिण्ड स्थानान्तरण भएको कुनै पनि सामान्य सङ्केत फेला परेको छैन।

यो प्रणाली कसरी बनेको हुन सक्छ भन्ने विषय बुझ्न अनुसन्धानकर्ताहरूले पृथक् बाइनरीहरूको करिब ३ लाख वटा ‘पोजिडोन’ सिमुलेसनहरू पनि परीक्षण गरे। तर कुनै पनि सिमुलेसनले यस प्रणालीको जस्तो पिण्ड र कक्षीय गुणहरूको संयोजन पुनः प्रस्तुत गर्न सकेनन्।

अध्ययनका लेखकहरू लेख्छन्, ‘J0008+0128 जस्ता प्रणालीहरूको दुर्लभता केवल सीमित पोजिडोन नमुना सङ्कलनका कारण मात्र भएको मान्न सकिँदैन, बरु यसले पृथक् बाइनरी विकासभित्रको एउटा बलियो विकासवादी विचलनलाई औँल्याउँछ। यद्यपि, यस्तो प्रणाली बन्नु सैद्धान्तिक रूपमा असम्भव भने छैन। यसका लागि चरम तर भौतिक रूपमा सम्भाव्य मापदण्डहरूको संयोजन आवश्यक पर्न सक्छ; जस्तै (न्युट्रोन तारा) पूर्वजको विकासका क्रममा असामान्य रूपमा प्रभावकारी साझा आवरण निष्कासन (कमन इन्भेलप इजेक्सन), (न्युट्रोन तारा) को उच्च जन्म-पिण्ड, र न्यूनतम सुपरनोभा धक्का (किक)।’

एउटा सम्भावित न्युट्रोन तारा

आफ्ना असामान्य विशेषताहरूका बाबजुद उक्त अदृश्य साथी न्युट्रोन तारा नै हुनसक्ने प्रबल सम्भावना रहेको टोलीको भनाइ छ। यसको सबैभन्दा मिल्दोजुल्दो उदाहरण ‘गाया एनएस१’ (Gaia NS1) हो, जुन करिब दुई वर्षको कक्षीय परिक्रमा अवधि र सूर्यभन्दा करिब १.९ गुणा बढी पिण्ड भएको सम्भावित न्युट्रोन तारा हो। J0008+0128 त्योभन्दा केही बढी चरम देखिए तापनि यो अन्य सम्भावित व्याख्याहरूसँग त्यति मेल खाँदैन।

तैपनि त्यहाँ केही अन्य सम्भावनाहरू पनि रहेको अनुसन्धानकर्ताहरू बताउँछन्। यो बाइनरी प्रणाली वास्तवमा एउटा ‘ट्रिपल सिस्टम’ (तीनवटा ताराहरूको प्रणाली) हुन सक्छ, जसमा अत्यन्त नजिक रहेका दुई साना न्युट्रोन तारा र एउटा रातो दानव, अथवा एउटा न्युट्रोन तारा, एउटा सेतो पुड्के तारा (ह्वाइट ड्वार्फ) र रातो दानव हुन सक्छन्।

यो पहिले तीनवटा पिण्ड भएको प्रणाली रहेर पछि दुई साना पिण्डहरू एकापसमा गाभिएको पनि हुन सक्छ। त्यो पिण्ड एउटा निकै सानो ब्ल्याक होल हुनसक्ने सम्भावना पनि जीवितै छ, यद्यपि यति सानो ब्ल्याक होल अहिलेसम्म फेला परेको छैन।

यस प्रणालीसम्बन्धी थप तथ्याङ्कले भविष्यमा अनुसन्धानकर्ताहरूलाई नयाँ स्पष्टता दिन सक्छ। वास्तविकता जे भए पनि, यस प्रणालीले न्युट्रोन तारा र ब्ल्याक होलबिचको पिण्ड-अन्तर बुझ्नका निम्ति अतिरिक्त वैज्ञानिक आधार प्रदान गरिरहेको छ।

अध्ययनका लेखकहरू लेख्छन्, ‘फराकिलो र न्यून-उत्केन्द्रित (लगभग वृत्ताकार) कक्षलाई मानक बाइनरी विकास प्रक्रियाबाट व्याख्या गर्न कठिन छ, जसले यस्ता प्रणालीहरूको स्पष्ट व्याख्याका लागि थप परिष्कृत सैद्धान्तिक मोडेलहरूको आवश्यकतालाई औँल्याउँछ।’

फिजिक्स डट ओआरजी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु