‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

एटुजेड समाचार

काठमाडौं – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने योजना अझै छलफलका क्रममा रहेको इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले बताएका छन् । इराकको राजधानी बग्दादमा आयोजित इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को विदेशमन्त्री परिषद्को ५२औँ सत्रका क्रममा आइतबार इरानको सरकारी समाचार संस्था इर्नासँगको अन्तर्वार्तामा उनले उक्त जानकारी दिएका हुन् ।

अराघचीका अनुसार, शत्रुतापूर्ण गतिविधि अन्त्य गर्न र ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले राखेका सर्त स्पष्ट छन् । ती सर्त समेटिएको सातदिने योजना अमेरिकासमक्ष प्रस्तुत गरिसकिएको उनले बताए ।उनका अनुसार, अमेरिकाले योजनाबारे आफ्नो धारणा प्रस्तुत गरिसकेको छ र त्यसको अहिले इरानले समीक्षा गरिरहेको छ ।“इरानको योजना अझै पनि छलफलको टेबुलमा छ”, अराघचीले भने । अमेरिकाले इरानका सर्त पूरा गरे छैटौँ दिनमा ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोलिने र सातौँ दिनमा वार्ता पुनः सुरु हुने उनको भनाइ छ ।

इरानका सर्त असाधारण नभएको उल्लेख गर्दै उनले ती सर्त शान्तिसम्बन्धी समझदारीपत्र (एमओयू) तथा अन्य वार्ताका क्रममा अमेरिकाले यसअघि नै स्वीकार गरेका प्रतिबद्धतासँग सम्बन्धित रहेको दाबी गरे ।अराघचीले इरान कुनै पनि धम्कीका अगाडि नझुक्ने र आफ्नो रक्षा गर्न तयार रहेको बताए । यद्यपि, उनले समस्या समाधानका लागि कूटनीतिक मार्ग अपनाउन पनि इरान इच्छुक रहेको स्पष्ट पारे ।

यसैबीच, इजरायल र अमेरिकाले फेब्रुअरी २८ मा इरानको राजधानी तेहरानसहित अन्य सहरमा संयुक्त आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा र सम्पत्तिलाई लक्षित गरी मिसाइल तथा ड्रोन आक्रमण गरेको थियो । साथै, इरानले ‘स्ट्रेट अफ होर्मुज’मा आफ्नो नियन्त्रण थप कडा बनाएको थियो ।

युद्धरत पक्षहरूबीच अप्रिल ८ मा युद्धविराम भएको थियो । त्यसपछि जुन १८ मा इरान र अमेरिकाले यस क्षेत्रमा जारी युद्धलाई सबै मोर्चामा अन्त्य गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त समझदारीअनुसार, इरानको आणविक कार्यक्रम र प्रतिबन्ध फुकुवासम्बन्धी विषयमा अन्तिम सहमतिमा पुग्न दुवै पक्षले ६० दिनभित्र वार्ता गर्ने तय गरेका थिए । उक्त समयसीमा अगस्ट १७ मा समाप्त भए पनि दुवै पक्ष सम्झौतामा पुग्न पर्याप्त प्रगति गर्न असफल भएका थिए ।

‘स्ट्रेट अफ होर्मुज’ विश्वको प्रमुख ऊर्जा पारवहन मार्गमध्ये एक हो । यस क्षेत्रमा उत्पन्न तनावले अन्तर्राष्ट्रिय तेल आपूर्ति तथा विश्व ऊर्जा बजारमा असर पार्न सक्ने भएकाले होर्मुज पुनः खोल्ने विषयलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु